शव्द र तस्वीर– देवकी विष्ट
“पैया गुडन लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या,
अब छुट्न लाग्या पहाडका डँाडा काँडा अब छुटन लाग्या ”
महेन्द्रनगरबाट अछाम सांफे वगरका लागि हिंडेको वसमा गीत घन्किई रहेको थियो। बसका अधिकांश यात्रुहरु लाहुरे थिए। भर्खरै चिनाजानी भएका लाल बहादुर र उनका साथीहरु गीतको बोलसँगै मिलाएर थप गीत गाउन थालेका थिए। उनीहरु गफ गर्दै थिए, “मेरा अछामका डाँडा कँँडा छाड्या पनि धेरै भइगयो। यार, कसो भयाको होला।”
हामी लाल बहादुर र उनका साथीको कुरा सुनी रहेका थियौं र त्यही धूनमा चुरोटको नमिठो धुवँालाई पनि सहेर बसेका थियौँ। महेन्द्रनगरको बस स्टेशनबाट अत्तरिया पुग्न सामान्यतः दुई घण्टाभन्दा वढी लाग्दैन। त्यस दिन बन्दका कारण अत्तरिया पुग्दा दिउँसोको १२ बजिसकेको थियो। दिपायल, पिपल्ला बजारपुग्दा त राति दस बजेको थियो। सवै खाना खान ओर्लिए। म र मेरी साथी निमा पनि खाना खान ओर्लिएका के थियौ धेरै जसो केटाले हामीलाई घेरे र सोध्न थाले, तपाईहरू पत्रकार हो? उनीहरुले यो प्रश्न किन सोधे हामीले थाहा नै पाएनौँ। हामीले किन? भनेर प्रश्न गर्दा नगर्दै उनीहरु जिस्किन थाले।
हामी खाना खान बसेका मात्रै थियाँै। एक्कासी एक वृद्ध महिला आइन् र भनिन्, “ओइ लड्कियो के गर्न लाछौ। आयम फाइन्, थाङ्कु आई लिभ यु लड्कियो ” उनी आफ्नो भएको एउटा मात्र दँात देखाएर ताली पिट्दै हँास्न थालिन्। उनी हाँस्दा उनको मुखभित्र पुरै अन्धकार संसार देखिन्थ्यो। उनी हेर्दा राम्रै घरानीया जस्ती देखिन्थिन्। उनको अनुहारको सवै चमक मेटिएको थिएन। लाग्थ्यो, जवानीमा उनी सिलगडी बजारमा हिड्दा सबैको मन हल्लिन्थ्यो।
उनी पागल थिइन्। तर उनले वोलेका शव्दहरु “ए लड्कियो आइ लिभ यु ” ले हामीलाई अछामको बाटोमा स्वागत गरेको भान भयो। अर्को दिन बिहानै छ बजे हामी सँाफेबगर पुगीसकेका थियौं।
सुदूर पश्चिममा मानसिक सन्तुलन गुमाउनेहरुको संख्या वढ्दो छ। अछाम त्यसको मुख्य विन्दू हो।
सुदूरपश्चिमको अछाममा एचआइभी एड्स्को आतंक फैलिएपनि यसको सौन्दर्यले त्यसलाई थिचेको थियो। हामी बुढीगंगा तरेर होटलको खोजीमा वजार छिर्यौं। अछामलाई आधुनिक संचारले निकै छोएको रहेछ। मोवाइलले सिग्नल टिपोस् या नटिपोस् प्रत्येकको कानमा मोवाइलको इयरफोन झुण्डिएको थियो। कहिले काही सिडीएमए वोकेर गंगाको छेउमा उभिँदा सिग्नल हुन्थ्यो भने कहिले बैजनाथ गाविस तिर जाँदा पनि बाटोमा टावर रिसिभ गर्दथ्यो। नमस्तेको टावर भने श्रीकोटको अग्लो डाँडामा पुगेपछि मात्र टिप्दथ्यो।
फोन लाग्ने नलाग्ने कुरासँग त्यहाँका युवाहरूलाई मतलव थिएन। उनीहरूलाई कोसँग मोवाइल छ? कोसँग छैन? त्यसको मात्रै चासो देखिन्थ्यो। बसेको होटलकी दिदी भन्दै थिइन्, …यी पुण्यौना बान्ना घरबाटी पैसा चोरेर पनि मोवाइल किन्न लाग्या छन्। यिनीखी को सकौ, कही बाटी चोरी होस् कि झगडा गरी होस् आजभोलिका यी केटालाई त मोवाइल चाहियो। यिनीले त घरमा परेसान गरेका छन्'। ती होटल साहुनीको मोवाइल चार्जमा राखेको बेला केही केटाहरूले चोरेका रहेछन्।
साँफेबगरमा एयरपोर्ट छ तर त्यहाँका वासिन्दाले आक्कलझुक्कल मात्र जहाज देखेका छन्। बुढीगंगा छेउ मै बगिरहे पनि पिउने पानीको हाहाकार छ सांफेमा। द्वन्द्वकालमा भत्काइएको खानेपानीको स्थानीय कार्यालयमा रहेको एउटा मात्र धारामा स्थानीय वासिन्दा नुहाउन र पिउने पानीको लागी घण्टौ लाइन कुर्छन्। बच्चादेखि वृद्धासम्म पानीको लागि लाइनमा बस्नु अनिवार्य छ। छेउको प्रहरी कार्यालयमा समेत पानीका लागि भीड लाग्ने गर्दछ।
हामीलाई नुहाउने मन थियो। तर, मानिसको भीडमा नुहाउनु सम्भव थिएन। “नानी म बसीदिन्छु यहीँ, केको लाज मान्नु यस्तै हो” भन्दै थिईन् चुरीदेवी । उनी फतफताउंदै थिइन्, केटीहरू नुहाउँदा झन् कसरी हेरी राख्छन् यहाँका लोग्ने मान्छे,। नुहाउनै पर्यो कति लाज मान्नू
श्रीकोटको डाँडाबाट हेर्दा साँफेबगर जाने बाटो सेलरोटी झै घुमेकेा देखिन्थ्यो भने साँफे बजार र एयरपोर्टलँई बुढीगंगाले छुट्याएको स्पष्ट देखिन्थ्यो। श्रीकोटसंगैको गाउंँमा लटरम्म फलेका कटहरले वातावरण झन् सुन्दर बनाएको थियो। श्रीमान्हरु बम्बै र बैगलोरमा कमाइका लागि गएका भएपनि यहाँंका महिला स्वावलम्वी छन्। तरकारी खेती गरेर आफ्नो खर्च आफँै जुटाउन सकेकोमा दङ्ग छन् उनीहरु।
अछाममा विकासका काम खासै भएका छैनन्। तर, यत्तिकै कारण पश्चिम नेपालमा यो जिल्लाको महत्व घटेको पनि छैन। स्थानीय वासिन्दाहरुले भर्खर विकासको महत्व वुझेका छन्। साँंफेदेखि सदरमुकाम मंगलसेन हुंदै विनायकको वाटो कर्णाली राजमार्गसंँग मोटरबाटो जोडिएपछि अछामका अनकण्टार गाउँहरुमा आशा पलाएको छ। सडकले ल्याउने विकासको चेतना विस्तारै गढ्न थालेको छ मानिसको मनमा।
ठूलो जिल्ला भएकाले अछाममा थुप्रै सामाजिक विविधता देखिन्छ। सांफे र विनायकको जीवन शैली र संस्कार मिल्दैन। तर, विकास र गरिवीको भाषा एउटै हुन्छ। सांँफे र विनायकबाट मोटरको वाटो सदरमुकाम पुग्न समय पनि लगभग उत्तिकै लाग्दछ। विनायकका वासिन्दालाई लाग्दछ सँांफेमा विकास बढी छ। सांफेकाहरूलाई लाग्छ विनायक सुगम हुंदैछ।
भन्छन्– अछाममा जति गैर सरकारी संस्था अन्त कतै छैनन्। गैर सरकारी संस्थाहरु स्थानीय युवायुवतीका लागि दुईचार पैसा कमाउने माध्यम बनेका छन्। यसले विकृतिहरु पनि त्यतिकै भित्र्याएको छ। अछाममा जति एचआइभी संक्रमणको चर्चा अन्त कतै छैन। छाउपडी प्रथाका वारेमा अछामीहरुले यति धेरै प्रचार गरेका छन् कि पीडितहरु ओझेलमा परेका छन् र प्रचारकहरुले नाम र दाम दुवै कमाएका छन्। अछामी सभ्यतासँंग र सौन्दर्यसंग तुलना गर्न लायक अरु क्षेत्रहरु थोरै छन्। विनायकको पन्चदेवल मन्दिर धार्मिक संस्कृतिको अमूल्य सम्पदा हो। तर, यसको संरक्षणका लागि मन्दिरको भित्तामा पोष्टर टांस्नु वाहेक अरु केही भएको छैन।
अछामको पश्चिमी क्षेत्र सांफेलाई उपभोक्ता संस्कृतिले गांजी सकेको छ भने पूर्वी क्षेत्रमा कर्णाली राजमार्गको वाटोबाट विस्तारै पस्दैछ त्यो संस्कृति। तर पनि अहिलेसम्म अछाम पवित्र छ। मालिका, रामारोशन, बैजनाथ र विनायकको महत्व अहिलेसम्म छोपिएका छैनन्। एउटा सुन्दर र स्वच्छ भूखण्डका रुपमा नेपालको श्रृंगार बनेको छ यो भूमि।
Nice to see your Blog . Really you are a great daughter of far western . be continue on this great job.
ReplyDeletewishing you all the best .
Hikmat & Mana Thapa
Kailali ( Now : Lagos,Nigeria)