गीतबाट संसार हेर्दै


देवकी विष्ट


काठमाडौँ — सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ यो मनले सुसेलेको कसले सुनिदेला
रूप खोज्ने आँखाहरू धेरै धेरै आँउछन्, मन खोज्ने मायालु कहाँ भेटिएला

रूप खोज्ने अनगिन्ती आँखाहरूका बीचमा रामप्रसाद बास्तोला फरक छन्। जन्मदै दृष्टिबिहीन उनीसँग अर्काको रूप देख्ने बाहिरी आँखा छैनन्। ज्ञानका आँखाबाट उनी गुन्गुनाउँदै सुनकोशीको सुसेलीलाई दुधकोशीले सुनेपनि आफ्नो गुनासो कसैले नसुनेको कुरा व्यक्त गर्छन्। उनी मन खोज्ने मायालु खोज्दै–खोज्दै अहिले साँखु पुगेका छन्। काठमाडौँमा अग्लो धरहरा छ। धरहराको नजिकै आकाशेपुलमा दैनिक बसेर गीत गाउने र बाटो हिँड्नेहरूसँग पैसा मागेर गुजारा गर्ने रामप्रसादले धरहरा देखेका छैनन् र कति अग्लो छ त्यसको अड्कल पनि गर्न सक्दैनन्।

आकाशे पुलको दायाँपट्टि सिँढीमा सधैँ भेटिने रामप्रसाद स्वस्थानी मेलाको एक महिने अवधिमा साँखुको सालीनदीको किनारमा गीत गुन्गुनाउँदै छन्। उनी आउनेजाने मानिसँग पैसाको याचना गर्छन्। उनीसँग संसारी चहलपहल हेर्ने आँखा छैन, तर पनि एक निर्दोष, निष्कपट, निञ्छल भित्री आँखा छन्।

एकाबिहानै रामप्रसाद गोमती जाने बाटोको अग्लो डिलमा बस्छन् र पैसा दिनु न आन्टी/अंकल भन्दै आफ्नो सुरिलो स्वरले सबैको ध्यान आकर्षण गर्छन् । हेर्दा नै स्याहारसुसारविनाको सुख्खा बिरूवाझैँ लाग्ने रामप्रसादको जिउ पेटभरी खान नपाएर सुकेको छ, व्यस्त बाटोको धुलो र लिखाले उनको कपाल ढाकिएको छ।

रामप्रसादले सुसेलेको अरुले सुने पनि उनलाई जन्म दिने आमा–बुबाले कहिल्यै सुनेनन्। रामप्रसादको घर उदयपुरको गाईघाट हो। उनी अहिले १० वर्षका भए। उनलँई ३ वर्षका छँदा उनकी सानीआमाले आफूसँग ल्याएर काठमाडौँको सडक–पेटीमा राखी माग्ने बनाएकी छिन्। सात दाजुबहिनीमध्ये ३ को मृत्युपछि रामप्रसाद आँखाको ज्योतिविना जन्मिए। उनकी बहिनी अहिले कक्ष्ँा ३ मा पढ्छिन्।

उनी पैसा माग्छन्, तर पैसा चिन्दैनन्। उनको मन–मस्तिष्कमा पैसाबाहेक केही छैन। पैसा खस्यो, कहाँ पर्‍यो भन्छन्। उनी पैसा कमाएर रेडियो किन्न चाहन्छन्। रेडियोमा राम्रा–राम्रा गीत बज्छन् र आफू पनि राम्रो गायक बन्ने चाहना रामप्रसादको रहेको छ।

रामप्रसादलाई ठिमी स्कूलमार् भर्ना गरिएको थियो, तर उनले छात्राबासमा खाना नखाने र रोएर हैरान पारेकाले पुनः सानीआमाले ल्याएर माग्न राखिन्। राम्रो गीत गाउनका लागि धेरै पढ्नुपर्छ भन्दा अहिले रामप्रसाद स्कुल जाने इच्छा व्यक्त गर्नथालेका छन्। उनी आफूले सम्झेसम्मका गीतहरू आधाउधी गाउँछन् र बटुवालाई आकर्षित गरेर पैसा बटुल्छन्।

रामप्रसाद दृष्टिविहीन भएकै कारण आमा–बुवाबाट त्यागिएका उनकी सानीआमा बताउँछिन्। रामप्रसादलाई यो सुन्दर संसार हेर्ने रहर छ। उनलाई केही डाक्टरले परीक्षण गरे, तर उनी आँखा देख्न सक्ने भएनन्। उनी भन्छन्,–…म कहिल्यै पनि आँखा देख्न सक्ने हुँदिन रे। मेरो आँखाको नसा सुकिसकेको छ रे, त्यसले मुटुमा पनि असर गरेको छ रे। अब आँखाले नसकेपछि गीतले संसार हेर्छु।' उनी अब आँखा देख्ने इच्छाभन्दा राम्रो गायक बन्ने इच्छा राख्छन् र गुन्गुनाउँछन् —

तिमी आउने बाटोमा फूल रोपिदिएँ, तिमी आइनौ।



Comments

  1. यो वालकलाई मैले काठमाण्डौं बसाईका क्रममा हरेक दिन २ पटक देख्ने गरेको छु । यो बालक प्रति सहानुभूति जागेर मैले पैसा चांही दिएको छैन । यो बालकलाई देख्दा कतै कुनै दृष्टीबिहीन संस्थाले उसलाई पढाइदिए हुन्थ्यो भन्ने मेरो मनमा लागिरहन्थ्यो । यो त अहिलेसम्म सडकमै पो रहेछ ।

    ReplyDelete

Post a Comment

Thank you for watch.