शब्दः देवकी विष्ट
तस्वीरः ओमलाल अकेला
…ए बुढी हेर् ऊ जसका घाँटीमा सबैभन्दा बढी माला छन् उनै हुन् कलियुगका राजा' पनौतीका ७५ वर्र्षीय हरि रायमाझी मेला–स्थलमा आइपुग्नुभएका राष्ट्रपति डा. रामवरण यादवतर्फ सङ्केत गर्दै आफ्नी श्रीमतीलँई आँखा तन्काउन लगाउँदै थिए। राष्ट्रपतिलाई आफूले राम्रै देखिसके पनि आफ्नी बुढीले नदेखेका कारण उनी चिन्तित थिए। …अहिले चिनाउन खोज्दैछु, तै पनि बुढीका आँखाले ठम्याउन सकेका छैनन्' भन्दै थिए उनी।
त्रिवेणी–सङ्गमका नामले प्रख्यात पनौतिमा अहिले हिन्दु धर्मावलम्बीहरूको १२ वर्षे मेला लागेको छ। आखिर मेला न हो, मेलामा कसैको ध्यान राष्ट्रपतितिर तानिएको थियो, भने कोही नदी–छेउमै देखिएको सर्पलाई शेषनागको साक्षात् अवतारका रूपमा नमस्कार गर्दै थिए। प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामवरण यादव मेलाको रमाइलोमा मुग्ध देखिनुहुन्थ्यो। मेला भर्न आउनेले यसअघिका मेलामा स्वर्गबासी राजा महेन्द्र र बीरेन्द्रलाई देखेका थिए। बार्हवर्ष अघिसम्म पनि पनौतिमा गाडी आउँदैनथ्यो। राजाहरू बनेपावाट घोडा चढेर पनौति पुग्दथे। राष्ट्रपति कस्तो लागे त? प्रश्न गर्दा रायमाझीले जवाफ दिए,– …खै हेराँै। यिनको चालचलन बिस्तारै बुझ्दै छाँै। अहिले त के भन्न सकिन्छ र? तैपनि हेर्दा मानिस त राम्रै लागेका छन्।'
पनौतिको त्रिवेणी–सङ्गममा स्नान गर्दा सबै पाप नष्ट हुने र मानिसको मनोकांक्ष्ँा पूर्ण हुने आस्था र विश्वास छ मानिसहरूको। पनौती शहरलाई …अश्मनगर' पनि भनिन्छ — पवित्र तथा अलौकिक एउटै ढुङ्गामाथि टक्रक्क अडिएको शहर। त्यो ढुङ्गा कस्तो छ कसैले देखेको छैन। स्कन्दपुराणमा यसको उल्लेख छ। यो ढुङ्गाको प्रभावका बारे पनि थरिथरिका किंवदन्तीहरू प्रचलित छन्। भुईंचालोले यो सानो शहरलाई खासै असर गर्नसक्दैन। २०४५ साल र त्यसअघि गएका भुईंचालाहरूको पनि यहाँ कुनै असर परेन। …हामी सबैलाई भुईंचालोको डर देखाएर पाल टाँगेर बाहिर बस भनिएको थियो। तर, केही भएन' भन्छन् स्थानीयबासिन्दा बीरबहादुर थापा।
शहर एउटै ढुङ्गामा अडिएका कारण यहाँ ढिकी कुट्ने चलन छैन। ढिकी कुट्दा त्यो ढुङ्गा भासिन्छ र शहरमा प्रलय आउँछ भन्ने मान्यताका डरले अहिलेसम्म ढिकी कुटिएको छैन।
तीनवटा नदी— लीलावती, पद्मावती र रूद्रावतीकोे संगम हो – त्रिवेणीधाम। भारतको प्रयागमा सरस्वती नदी अदृश्य भएजस्तै यहाँपनि रूद्रावती अदृश्य बगेको मान्यता छ। त्रिवेणीधामको एकापट्टी बद्रीनाथ, केदारनाथ, मुक्तिनारायण, गणेश, कृष्ण–राधा, राम–सीता, इन्द्रेश्वरी र शेषनागका मुर्तीहरू छन् भने नदीको अर्को पट्टि ब्रह्मायणी र गोरखनाथको मन्दिर रहेको छ।
पनौतीका बारे प्रचलित एउटा आख्यानअनुसार, गौतम ऋषिकी पत्नी अहिल्या धेरै सुन्दर थिइन्। अहिल्याको सौन्दर्यको आकर्षणमा परेका स्वर्गका राजा इन्द्रले ऋषि नभएको मौका छोपी ऋषिको भेषमा अहिल्यासँग रतिक्रीडा गरेका थिए। रतिक्रीडापछि राजा इन्द्र बाहिर निस्कँदा गौतम ऋषिले आफ्नै स्वरूप लिई आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएर उनलँई श्राप दिएका थिए–…बाह्र वर्षसम्म तेरो शरीर योनी नै योनीले ढाकियोस्।' यो श्रापबाट मुक्ति पाउनको लागि इन्द्रले पनौतिकोे त्रिवेणी–घाटमा १२ वर्षसम्म तपस्या गरेका थिए र हत्केलामा भरेर त्रिवेणीको जल गोरखनाथलाई चढाउने गरेका थिए। यही तपस्याका कारण इन्द्रले मोक्ष्ँ प्राप्तगरेका थिए।
त्रिवेणी–घाटमा बिहान सखारैदेखि मेलाको चहलपहल शुरू भैसकेको थियो। चारैतिर बत्तीको जग्मगाहट थियो। मेला भर्न आएकाहरू नुहाउँदै, मुख धुउदै र टाउकोमा पानी सिञ्चन गर्दै थिए। पनौतिको घाटमा साना बालकदेखि बृद्धसम्मको उपस्थितले मेलाको रौनक बढाउदै थियो। बाह्र वर्षमा एकपटकमात्रै आउने यो दिन यहाँ नुहाए मुक्ति पाइने विश्वास सबैमा थियो।
ब्रह्मायणी मन्दिरको छेउमा नाग आएको हल्लासहित कल्याङकुलुङ शुरु भएपछि नागको पूजा गर्न मानिसहरूको तँछाड–मँछाड बढ्यो। नाग मन्दिर–परिसरको शिवलिङ्गमा बेरिएर बसेको थियो। बुढापाकाहरूकाअनुसार, मेलामा यसरी नै सधैँ शेषनाग प्रकट हुने गर्नुहुन्छ।
पनौति मेलासँग धेरै किंवदन्तीहरू जोडिएका छन्। यस्तो लाग्दछ, यो मेला आफैँमा पनि किंवदन्ती जस्तै छ, अत्यन्त रोचक। स्थानीय बासिन्दाहरूका अनुसार ब्रह्मायणी मन्दिरबाट मेलाको एक महिनाको अवधिभित्र एक दिन दूध बगेर नदीमा आँउछ। मक्कलमा कोइला ताप्दै बसेकी एउटी बुढी आमाले आफ्नो अनुहारको चाउरीभित्र पनौतीका थुप्रै रहस्यहरू लुकाएकी थिइन्। कान्छी देउराली नामकी ती बृद्धाले अहिलेसम्म सात–पटक नुहाइसकेकी छन् पनौतीको मेलामा। तर, यसपाली उनले नुहाउन सकिनन् र नदीको पानीले मुखमात्र धोइन्। उनीसँग धेरै कुरा गर्ने इच्छा थियो। तर, उनले भनिन्, म त पर्वते भाषा बु‰िदन्।
केही युवतीहरू हातमा जल हत्केलामा राखेर गोरखनाथको दर्शनको लागि हतार–हतार दौडिरहेका थिए। उनीहरू हत्केलाको पानी चुहिसक्नुभन्दा पहिले मन्दिरमा पुगेर भगवान्लाई जल चढाउने प्रयत्न गर्दैथिए। हतारमा एउटी युवती भन्दै थिइन्, …ला जल त सकिन लाग्यो। म त नपुग्ने भयो कि क्या हो माथिसम्म।' हत्केलामा जल राख्न नसकेका कतिले आफ्नो मनोकांक्षा पूर्ण नहुने अनुमान गरे भने कति जल चढाउन पाएर प्रसन्न भए।
पनौति मेला जलको मेला थियो। मानिसका मनमा ईश्वरप्रतिको शाश्वत आस्था जगाउने एउटा रमाइलो मेला।
Comments
Post a Comment
Thank you for watch.