रङ्गीन रातमा कृत्रिम जीवन जिउनेहरू

देवकी बिष्ट
काठमाडौँ — जब घाम डुबेर जुन उदाउँछ, जुनसँग आकाशमा ताराहरू चम्किन थाल्छन्। गाउँघरका झुप्रामा बत्ती निभेपछि कठमाडौँ शहरका गल्ली र चोकहरू झल्मलिन्छन्। लोडसेडिङ्गले शहरलाई आंशिक रूपले कुण्ठा पारे पनि व्यावसायिक रूपमा जेनेरेटर र युपिएसबाट उत्पादित बत्तीले काठमाडौँको रात्रीबजारलाई आघात पारेको छैन।
काठमाडौँका सडक–गल्लीमा रातभर चहलपहल गर्नेहरू विभिन्न रङ्गका हुन्छन्। लुटिनेदेखि लुट्नेसम्म। सपना बोक्नेदेखि भविष्य कोर्नेसम्म। कृत्रिम–जीवनदेखि बाध्यताको जीवनसम्म। सडकमा पुग्नु, बाध्यतामा जिउनु अनि समाजको तिरस्कार भोग्नु कसैको रोजाइ र इच्छा होइन, हो त केवल बाध्यता। मर्नुभन्दा बहुलाउन निको मान्नेहरूको विकल्प। काठमाडौँ खाल्डोमा लाखौँ मान्छेको भीडमा च्यापिएर जीवन जिउनेहरूमध्ये सिर्जना, रीना र श्वेता पनि हुन्।
यी तीनवटी नवयौवनाको जिन्दगी अरुकोभन्दा पृथक छ। उकुसमुकुस भावनामा मन रुवाएर ओठमा बनावटी हाँसो बाँढ्दै अरुलाई हँसाउने, धनाढ्यहरूलाई मनोरञ्जन दिने काम उनीहरूको हो।
 गाँउका कुना–कुन्दराबाट ठूलो मान्छे बन्ने र पैसा कमाउने सपना बोकेर उनीहरू सपनाको शहर काठमाडौँमा पाहुना बनेका हुन्। उनीहरू आफ्नो यौवन चोखो छ भन्छन्, तर  यो सपनाको शहरमा डोलाएका र टोलाएका नजरले उनीहरूलाई विश्वास गर्न डगमगाउँछ।
दाङ्गबाट काटमाडौँ छिरेकी हुन् …सिर्जना पुन।' …मलाई यो जीन्दगीले कहाँ पुर्‍यायो कहिले हँसायो कहिले रूवायो' रामकृष्ण ढकालको यो गीत सिर्जनाको जीवनमा यथार्थ बनेको छ। जन्मसँगसँगै दुःख, कष्ट र यातना बोकेर आएको अनुभूति गर्छिन् सिर्जना।  उनकी आमाले सिर्जनालाई जन्म दिएकै कारणले घरबाट निकालिनुपर्‍यो। छोरा नजन्माई छोरी जन्माएको भन्दै सिर्जनाका बुबाले सुत्केरी आमालाई घरबाट निकालेपछि सिर्जनाका दुःखका दिन शुरु भए। बुबाको मायाबाट टाढिएकी सिर्जनाले आमाको छहारीबाट बाल्यकाल पार गरिन्। द्वन्द्वकालमा प्रत्येक घरबाट माओवादीले जनयुद्धका लागि एक–एकजना व्यक्ति लान थालेपछि सिर्जनका लागि दुईवटा विकल्प देखिए। घर छोडेर माओवादीका साथ जङ्गल पस्ने अथवा सबैलाई अटाउने काठमाडौँ हानिने। २० वर्षको कल्कलाउँदो बैंस लिएर सिर्जना काठमाडौँ आइपुगिन्। चिटिक्क परेका साना गाजलु आँखा, लजालु अनुहार र नशालु मुस्कान भएकी सिर्जनाले सपनाको शहर काठमाडाँैमा २०५९ सालमा पाइला टेकिन्। गाउँबाट केही केटीहरूसँगै भागेर आएकी सिर्जनाको काठमाडौँमा कुनै आधार थिएन। कामको खोजीमा भौतारिँदा–भौतारिँदा आफूसँग भएको पैसा सकियो।
गाउँमा पाखा पखेरा थर्काउँदै गीत गाउने सिर्जना अन्ततः आफूसँग भएको त्यही कलाबाट बाँच्ने कुरामा लागिन्। ठमेलमा रहेको नगरकोट दोहेारी साँझमा उनी गीत गाउन थालिन्। घाँस–दाउरा गर्दा गाउने गीतले तत्काल भोको रहेको उनको पेट भर्ने काम गर्‍यो। सो दोहोरी रेष्टुरेन्टमा उनले तीन वर्ष काम गरिन्। दोहोरी रेष्टुरेन्टमा काम गर्दा उनीले काठमाडौँका कुनै पनि घरमा बस्ने कोठा पाइनन् धेरै दिनसम्म। कोठा खोज्दा …कहाँ काम गर्छौ?' भनी सोध्ने र दोहोरीमा भनेपछि मुख फर्काएर नबोली घरबेटी भित्र जाने कुरा उनी अहिले झल्झली सम्झन्छिन्। घरबेटीलाई धेरै अनुनय–विनय गरेपछि सिर्जनाले गैैरीधारामा कोठा पाइन्। राति अबेरसम्म दोहोरी साँझमा गीत गाएर कोठामा पुग्दा एक/दुई बजिसकेको हुन्थ्यो। एकपल्ट राति घरबेटीले ढोका नखोलेपछि सिर्जना रातभर गेटबाहिर बस्नुपरेको कुरालाई उनी कहिल्यै पनि बिर्सिदिनन्। दोहोरी रेष्टुरेन्टमा गीत गाएर अरूलाई मनोरञ्जन दिने काम थियो सिर्जनाको। उनी भन्छिन्,–…तर कहिलेकाहीँ गीत गाउँदै गर्दा छिल्लिएका ग्राहकहरू स्टेजमै तान्न आउँथे भने कोही टिप्सका नाममा पैसा दिने निहँुमा आफ्नो हात छातीभित्र हाल्न खोज्दथे। कस्तो राम्रो गाएको भनेर अलिक धेरै टिप्स दिनेहरू घर फर्कंदा पछि लाग्ने, एक रातको कति लिने भन्दै दिक्क लगाउँथे।' दोहोरी रेष्टुरेन्टले पाँच हजार तलब दिन्थ्यो उनलाई। उनी दुःख पोख्छिन्,–…समयमा तलब नपाएपछि माग्दा साहुले नराम्रँे शब्दले गाली गर्ने र यौनदुर्व्यवहार गर्दथ्यो।'
विगत ७ महिनादेखि सिर्जना गैरसकारी संस्था महिलाको निम्ति महिला मञ्च वरेककी अध्यक्ष छिन्। उनी सो संंस्थ्ाामार्फत अनौपचारिक रूपमा मनोरञ्जन क्षेत्रका महिलाहरूको अधिकारका निम्ति काम गर्दै छिन्। उनीजस्तै थुप्रै महिलाहरू आबद्ध छन् सो छहारीमा। सिर्जनाले कक्ष्ँा ८ मा पढ्दा–पढ्दै छोडेर काठमाडौँ आउनुपरेको थियो। अहिले उनलाई अधुरो पढाइले अगाडि बढ्न तगारो हालेको छ। उनी आफ्नो अध्ययनलाई अगाडि बढाउने सुरमा लागेकी छन्।
सिर्जनाजस्तै रीना खड्का रामेछापबाट सपनाको शहर काठमाडौँमा छिरिन्। आखिर अरु के पाउनु र एउटा बारमा वेटरको रूपमा उनी ठोक्किइन्। बारमा पुग्दासम्म उनलाई थाहा थिएन बार के हो र त्यहाँ आफ्नो काम केहो भन्ने कुरा। आमाबुवाले के गर्छेस् भन्दा उनले  एउटा बारको अफिसमा काम गर्छु भनिन् रे। बार भनेको के हो गाँउका आमाबुवालाई के थाहा? उनी भन्छिन्, –…बारमा छिर्दा लुकेर बारमा छिथर्ंे, लुकेर बस्थेँ कोही चिनेको मान्छेले देखेमा के भन्ला जस्तो लाग्थ्यो।' बारमा वेटरको काम गर्दा रीनाले यौन–दिग्दारी भोग्नु–भोगिन्। उनी भावविभोर हुँदै भन्छिन्,–…खाना बाँड्दा कसैले पेन्टी तान्दथ्यो त कसैले काखीमुनितिरबाट संवेदनशील अङ्ग छाम्न खोज्दथे। जर्बजस्ती किस खान नजिक आउने पनि बारका ग्राहक हुन्थे।' त्यस्ता बद्मास ग्राहकका विरुद्धमा साहुलाई कम्प्लेन गर्न नपाइने भएको रीना बताउछिन्।  रिना भन्छिन्,–…पारिवारिक र भ्रद वातावरण चाहने मान्छे त बारमा पुग्दै–पुग्दैन। ठेला चलाउनेदेखी सरकारी ठालु कर्मचारीसम्म बारमा आएर सताउने गरेको रीना बताउँछिन्। उनी सोच्दथिन्,–…जीवन यसै बित्ने भो अब कसले बिहे गर्छ र ' तर, त्यही वातावरणभित्र रीनामा मायाको फूल फक्रियो। त्यहीँ काम गर्ने एक पुरुषसँग विवाह उनले गरिन्। दुबैजना अहिले कोठा लिएर बसेका छन्। रीनालाई श्रीमान्को घरको परिवारले पनि त्यस्तो नराम्रो केही भनेका छैनन्। श्रीमान्ले पनि राम्रै माया दिएका छन्। उनी भन्छिन,–…बरू उल्टै कहिलेकाहीँ श्रीमान्सँग मै झगडा गर्छु।'
सिर्जना र रीनाको भन्दा फरक कहानी छ बिनीता लामिछानेको। गार्खाकी बिनीता पहिले चितवनको एक एफएम रेडियोमा दोहोरी गीतको कार्यक्रम चलाउँथिन्। आफूलाई बुबाले नै दोहोरी साँझमा गीत गाउन लगाएको उनी बताउछिन्। गीत गाउनु सानैदेखिको शोख हो उनको। उनी अहिले कमलादीको एउटा दोहेारी साँझमा सुरिलोे स्वरले ग्राहकलाई मन्त्रमुग्ध पार्छिन्। उनी स्नातक तह तेस्रोवर्षमा अध्ययनरत छिन्। उनी भन्दै थिइन,–…पत्रकारहरू आफ्नो पत्रिका बिकाउनका लागि …बिचरा' भनी नराम्रँे किसिमले हामी रेष्टुरेन्टमा गाउनेहरूलाई करुणा देखाएर प्रस्तुत गर्छन्, तर तपाईं यस्तो नगर्नुहोला। तपाईंले लेखेको पढेर मलाई कसैले बिचरा नभनून्। हाम्रँे छुट्टै स्ट्याण्ड छ।' उनी आफ्नी बहिनीसँगै बसिरहेकी छिन् र बहिनीको खर्च पनि धानेकी छन्।
श्वेता सुन्धाराको एउटा बारमा नाच्ने काम गर्छिन्। अरु काम नपाएपछि विकल्पमा उनी नाचेर अरुलाई मनोरन्जन दिन तयार भएकी हुन्। नाचेरै उनले आफ्नो परिवारको खर्चसमेत टारेकी छिन्। दिउँसो अनमीको तालिम लि“दै रातमा उनी छमछमी नाच्छिन्। श्वेता …टू–पिस'मा नाच्छिन्। उनको नृत्य प्रायःजसो दर्शककै रुचिअनुसार यौनिक हाउभाउपूर्ण हुनेगर्दछ। श्वेता भन्छिन,–…पारदर्शी कपडामा शरीरको मोसनले डान्स बारमा आएका ग्राहकलाई तान्नुपर्छ। जति वाहवाह पाइन्छ, त्यति नै साहु खुशी हुन्छ। कपडा पनि पारदर्शी र सेक्सी लगाउनुपर्छ।' श्वेतालाई यसरी नाच्ने रहर होइन कहर हो। उनी राम्रो काम पाएमा डान्सबारमा नाच्न छोड्ने मानसिकतामा छन्। उनी भन्छिन्,–…विकल्प खोज्नका लागि नै मैले अनमी पढ्न शुरु गरेकी हुँ।'


Comments