एड्स बोकेर बाँच्ने सीताहरु

देवकी विष्ट / अछाम
          …डोटी राम्रो डडेल्धुरा अछाम राम्रो  साँफे 
             मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफे'
                                यस्तै गीत गाएर सीता धामीले वाल्यवस्था पार गरिन्। उनी सानोमा यो गीत खुब मन पराउँथिन् अनि आफूले लगाएको फ्रक (जामा)लाई हावामा फरर्र फिँजाएर घुमाउँथिन्। अछाम र साँफेवगर सम्झाउने गीतले डाँफे जत्तिकै उडेर अछाम पुग्ने रहर सबैमा जगाउँथ्यो। सीताले अन्जानमै टिपेको लोकगीतको भाका अब पुरानो भएको छ। अनि अछाम र साँफेको सुन्दरता यतिखेर एकादेशको कथामा परिणत भएका छन्। 
 गाउँघरको सौन्दर्यलाई वाध्यतावश चटक्कै बिर्सेर कालापाहाड जाने दाजुभाइले कोशेलीमा ल्याएको एचआइभी एड्सले अछाम यतिखेर बिरामी परेकोछ। सिकारीको तिर लागेर घाइते भएको डाँफेजस्तै साँफे पनि ओछ्यान परेको छ। अछामको साँफेबाट ३/४ घण्टाको पैदलयात्रापछि बैजनाथ गाविसको वडा न ७ मा पुगिन्छ। रङ्गीविरङ्गी फूलहरुले सिँगारिएको वैजनाथले जति आगन्तुकलाई स्वागत गर्छ त्यति स्थानीयहरुले गर्न सक्तैनन्। उनीहरु वहिष्कृत छन्, अपहेलित छन् अनि बाँच्ने जीजिविषामा स्वप्नविहिन टोलाएका आँखाले पाहुनालाई स्वागत गर्नु मनासिव पनि ठान्दैनन्। 
मलिनो अनुहार, हतार हतारमा अग्लो डाडाँबाट बनपाखा भ्याएर पिठ्युँमा दाउराको भारी बोकी घर फिर्दैछिन् सीता धामी। आफ्नो जीवनका उतार चडावलाई मनमा गुथ्दागुथ्दै कतिखेर घर पुगिन्छ भन्ने पनि हेक्का हुँदैन उनलाई। सीताले जीवनमा धेरै गोरेटाहरु छिचोलेकी छिन्। कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उनले अनगिन्ती ठेस भोगेकी छिन् र थुप्रै हण्डर खाएकी छिन्।
पिठ्युँमा दाउराको भारी त उनको क्षणिक हो, उनको जिम्मेवारीको भारी पहाड जत्तिकै भयङ्कर र निरन्तर छ। आफ्नो कोखबाट धर्तिमा पाइला टेकेका चार छोरा र तीन छोरीको जिन्दगी थाँक्रामा बेरिएका काँक्राका लहराझैँ उनमाथि झेलिएका छन्। 
श्रीमान्लाई बम्बैया रोगले खोसेको ९ वर्ष भइसकेको छ। अछामतिर एचआइभी एड्सलाई बम्बैया रोग भन्ने चलन छ। उनी भन्छिन् …उनी खी एड्स भ्याको रहेछ, हामीले थाहा पायानौ।' सीताका श्रीमान् नृप धामी बम्बैको केरलामा काम गर्दागर्दै बिरामी परेर गाउँ फर्के र ९ महिनासम्म ओछ्यान परे। सीताका लोग्ने आफूलाई टिवी भएको भन्दै औषधी खान्थे। मरेपछि गाउँलेले …भाइयौ यसको लोग्ने त एड्सलागि मर्याको' भनेपछि सीताले थाहा पाइन्। 
सीताका लोग्नेलाई पहिले नै एचआइभी भएको रहेछ। अन्जान सीता र निर्दोष  नावालक छोरामा पनि नृप थामीले एचआइभी थमाइदिए। जब गाउँमा सीता र सीताका छोरामा एचआइभी छ भन्ने हल्ला फैलियो तब गाउँलेले भन्नथाले …यइले पनि दुनियाँको रोग सारी।' सीताले आफ्नो श्रीमान् बितेको एक बर्षसम्म गाँउ गाँउमा मागेर आफ्ना केटाकेटी पालिन्।
सीताले आफूलाई एड्स भएकोे थाहा पाएको पनि ५ बर्ष भइसक्यो। उनी गाउँबाट विस्थापित भइन्। उनको जीवनमा दुःखको पहाड बाहेक केही पनि जुटेन। उनले आशा गरेको र पर्खिएको भनेको मृत्यु नै हो। मृत्यु पर्खंदै पटुकाको सप्कोले आँशु पुछेर भए पनि सातजना छोराछोरीलाई लतार्दै यहाँसम्म ल्याइपुर्‍याएकी छिन्। गाउँबाट विस्थापित भएसँगै सीताको जिन्दगीका सहारा एक टुक्रो जमिन र टाउको लुकाउने झुप्रो घर पनि खोसियो। 
सीताको घरमा जस्तै अछामका प्रत्येक जसो गाउँबाट बम्बइ र दिल्लीमा काम गर्न जाने पुरुषहरुले घर परिवारमा नाँसो स्वरुप एचआइभी (बम्बैया रोग) थमाएका छन्। अहिले अछाममा एचआइभी एड्स संक्रमितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न गैरसरकारी संस्थाहरु सक्रिय रहेका छन्। सीताले पनि सहयोग स्वरुप ३ वटा बाख्रा पाइन्। गंगोत्री नामक संस्थाले सानो पसल खोलिदियो। 
सीताले पालेका बाख्रा बेचेपनि …ये एड्स सरला जनखा मासु, जन किन बाख्रो' भनेर सीताले पालेका खसी बोका किन्न नदिने मानिसहरु अहिले पनि सक्रिय छन्। अहिले सीताको माइलो छोरा १० कक्षामा पढ्दैछन् भने जेठो छोराले पसल हेर्छन्। सीताको दिनचर्या फेरिएको छैन। उनी अझै पनि आफ्ना छोराछोरीको अनुहारमा अनिश्चितताको वादल मडारिएको देख्छिन्। उनीहरूमा केही कुराको पनि उमङ्ग छैन। साथीहरूसँग खेल्ने यताउता जाने केही गर्दैनन्। साथी संगतीले पनि एड्स आयो एड्स आयो भनेर वहिष्कार गर्छन्। निराशाको सुस्केरामा सीता आकाशतिर नियाल्दै भन्छिन् अब मलाई हिउँचुलीको डाँफेले होइन यमराजले मात्र लान सक्छ। 
रामायणमा अग्नि परीक्षा भोगेकी पवित्र नारी सीता, यतिखेर एचआइभी एड्सको बोझ बोक्छिन् अनि फेरि धर्ति फाट्ने आशा कुर्छिन् सीता। 

Comments