अविरल बगिरहेछ कर्णाली

शब्द/तस्वीर : देवकी बिष्ट
सुर्खेतदेखि जुम्लासम्म खुलेको कर्णाली राजमार्गले कर्णाली प्रदेशको मुहार फेरेको छ। कर्णालीबासीलाई अवसर दिएको छ। रोग र भोकले तड्पिएकाहरूलाई राहत दिएको छ। अनि आधुनिक विकासको खुड्किलामा पदार्पण गराएको छ।
सञ्चार–माध्यमले नियमित ओकल्ने सन्देश। तर, सुर्खेतको बड्डीचौरदेखि जुम्लासम्मका बाटाका आसपासमा बसोबास गर्नेहरूले राहतको महशुस गर्न पाएका छैनन्। पारि अछाम र वारि दैलेखलाई चिर्दै दक्षिण बगेको कर्णालीजस्तै अविरल प्रवाहमा बगेको छ यस क्षेत्रका बासिन्दाको पीडा। निलो पानीको भण्डार बोकेको कर्णालीको किनारमा बस्नेहरू पानी पिउन नपाएर तड्पिएका छन्। यस भेगमा पहिले–पहिले सुन्तला र काउली उत्पादन हुनेगर्दथ्यो। अहिले सबैको जिब्रोमा चाउचाउ र चिजबलको स्वाद झुण्डिएको छ। व्यापारमा सहजीकरण त भएको छ, तर स्थानीय उत्पादन पूरै ठप्प छ। गुड्का, परागजस्ता जङ्कफुडले कर्णालीबासीको जिब्रो बिगारेको छ। नदीकै किनारमा खुलेका होटल र पसलमा दही, दूध र स्थानीय माछा छैन बरु विभिन्न ब्राण्डका ठर्राका बोलत सजिएका छन्।
कर्णाली सुसाउँदै बगेको गतिमा कर्णालीबासी युवाहरूको सुस्केरा पनि दक्षिण नै बगेको छ। कर्णालीको तुहिनबाट झुण्डिएर वारपार गर्ने विद्यार्थीदेखि कालापहाड जाने युवाहरूको हत्केलामा तुहिनको डाम बसेको छ।
कर्णालीका बासिन्दाहरू कामका लागि मात्र होइन उपचारको लागि पनि कालापहाड (भारत) जान्छन् र ठगिन्छन्। कर्णालीको किनारै–किनार चल्ने मालबाहक सवारीसाधन होस् अथवा यात्रुबाहक बस कालापहाड जानेहरूले भरिएको हुन्छ। सुर्खेतको बड्डीचौरमा कर्णालीबासी बाहिरिएको देख्ता कर्णाली रित्तिएको आभाष हुन्छ। महिनौं लगाएर पैदलयात्राबाट कलापहाड जानेहरूलाई कर्णाली राजमार्गले सुगम बनाएको छ। फरक यत्ति हो। महिनौं हिँड्दा धाँजा फाट्ने पैतालाले अब दुःख पाउँदैनन्। कर्णालीको तिरैतिर दक्षिण हुइँकिनेहरू सेताम्मे धुलो बोकेर सोही दिन सुर्खेत झर्नसक्छन्। अनि कर्णाली बिर्साउँदै भारतको नैनीताल, देहरादुन, पिथौरागड, कश्मिरलाई पसिनाले सिञ्चित बनाउँछन्।

कर्णाली राजमार्ग खुलेपछि दैलेखको तल्लो डुङ्गेश्वरसम्म विदेशी पर्यटकहरू र्‍याफ्टिङ गर्न पुगेका छन्। उनीहरू तल्लो डुङ्गेश्वरदेखि चिसापानीसम्म एकहप्ते र्‍याफ्टिङ गर्छन्। कर्णालीको तिरमा रहेको सानो बजार तल्लो डुङ्गेश्वरमा बसोबास गर्नेहरूका लागि गोरो छाला र र्‍याफ्टिङका सामान नै अजिब हुन्।
कर्णालीको छेउमा विदेशी पर्यटकहरू र्याफ्टिङको तयारीमा जुट्दा बच्चादेखि युवासम्म तिनीहरूलँई हेर्न झुम्मिन्छन्। विदेशीहरू फुच्चे पेप्सीको सानो बोतलको चुस्की लगाउँदै चाउचाउको फाँको मार्छन् र पाउरोटी चपाउँछन्। स्थानीय दर्शकहरू घुटुघुटु थुक निल्छन् र हेर्छन्। विदेशीहरू चुरोटको धुँवा उडाउँछन्। स्थानीय दर्शकहरू विदेशीले फालेको चुरोटको बट्टा टिप्न तँछाड–मछाड गर्छन्।

तल्लो डुङगेश्वरको बजारमा क्यामेरा झिक्नासाथ मानिसहरू झुम्मिन्छन्। उनीहरूको रहर फोटो खिचाउने हो। साना नानीहरू क्यामेराको अगाडी आएर आ–आफ्नो फिल्मी स्टाइलको पोज दिन्छन्। …हाम्रँे पनि फोटो खिचिदेऊ न' भन्दै र कपाल मिलाउँदै, नाकमा काँडे फुली, कानमा ठूलो बाली लगाएका महिला क्यामेरा–अगाडि आउँछन्। उनीहरू क्यामेरामा आफ्नो फोटो हेर्दै भन्दै थिए …अरे एमी त एकै चोटी हेर्न मिल्नया रहेछ। यो फोटो मलाई देऊ।'

एउटी हतार–हतार आइन्। फाटेको छाता ओडेकी, फाटेको धोती लगाएकी उनको जीउभरि धुलो थियो। उनले पिठ्यँुमा बच्चा र टाउकोमा नून बोकेकी थिइन्। उनले क्यामेराअगाडि आएर भनिन्,–…केही दिनअगाडि फोटो खिचाउन सुर्खेत गए, पैसा पनि पहिले नै दिए उसले सबैको फोटो खिच्यो बनाइदिन्छु पनि भन्यो, तर अहिलेसम्म आफ्नो र छोराको फोटो पठाएको छैन।' उनी फोटो खिच्न तयार भइन्। उनको आग्रह थियो,–…मलाई मेरो फोटो पठाइदिया हजुर ' उनको नाम कलु परियार रहेछ। उनी बजारमा नून लिन अँएकी रहिछन्।

बिजुली र टेलिफोनको सुविधा नभएको तल्लो डुङ्गेश्वर बजारमा केहीले छतमा सोलार–पावर जडान गरेका छन्। तल्लो डुङ्गेश्वरभन्दा केहीअगाडि रामघाट खोला र कर्णालीको दोभानमा च्यापिएको छ रामघाट बजार। रामघाट यसर्थ पनि महत्वपूर्ण छ किनकि यसको छेउमै माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण हुनेभएको छ। यद्यपि यो विवादास्पद छ। स्थानीयबासीहरू अपर कर्णाली परियोजनाको बारेमा विभाजित छन्। कसैलाई मतलब छैन भने कोही धेरै आशावादी छन्। कसैलाई आफ्नो इच्छाअनुसार होइन आफ्नो राजनीतिक पार्टीको निर्देशनअनुसार विरोध गर्नुपरेको छ। हिउँदमा पुग्दा सुनसान रामघाट बजार डुबानमा पर्छ भन्ने शङ्का गर्न सकिने सम्भावना थियो। नभन्दै गत वर्षातमा रामघाट बजारमा कर्णाली पस्यो। थुप्रैका झुप्रा बगायो।

रामघाट बजारमा महिलाहरू प्रायः व्यस्त हुन्छन्। उनीहरू साँझसँगै आफ्नो रक्सी–व्यापारमा लाग्छन्। गाँउघरमा बनाइने जाँड र रक्सी बनाउन स्थानीय अन्न छैन। विश्व खाद्य कार्यक्रमले …कामका लागि खाद्यान्न'अन्तर्गत वितरण गरेको खाद्यान्नबाट बनेको जाँड र रक्सी खुब बिक्री हुन्छ रामघाटमा। प्रायः महिलाहरू घरेलु पेय–पदार्थ बनाउन सिपालु छन् र अरूले थाहा नपाऊन् भनी कुरा मिलाउन झन् सिपालु। उनीहरूका आ–आफ्नै ग्राहक छन्। आफू झुपडी घरमा बसे पनि रक्सी भने पक्की घरमा बनाँउछन्। त्यहाँ अपरकर्णालीले गर्दा केही चहलपहल बढेको छ अनि व्यापार पनि केही फस्टाएको छ।

सुर्खेतदेखि रामघाटसम्मको अर्को विशेषता भनेको राउटेहरू हुन्। स्थानीय बजारमा लोपोन्मुख राउटे जातिको पनि चहल–पहल रहन्छ। उनीहरूको आफ्नै रहनसहन छ आफ्नै नियम छ। उनीहरूका श्रीमती वा छोरी–बुहारीले कसैसँग बोल्न पाउँदैनन् र बोल्दैनन् पनि। राउटेहरू पनि जङ्गलका भ्याकुर, बाँदरको मासु छोडेर रक्सी र खशीको मासुमा पल्किएका छन्। उनीहरू चुरोटमा रमेका छन्। सञ्चारकर्मीले सोध्ने प्रश्न र खिच्ने फोटोमा उनीहरू पैसा लिन्छन्। एकपटक फोटो खिचेको पाँच सय रूपैयाँ लिन्छन्। प्रश्नोत्तर गरेको पनि त्यहीअनुसारको रेट छ। राउटेका मुखिया ऐन बहादुर शाही भन्दै थिए,–…मु अहिले प्रचण्डलाई र बाबुरामलाई फोन गरी आएको हुँ, पैसा पठाइदेऊ भन्या छु हामुले के खान्या अब जङ्गलमा, हामी एक ठाँउमा बस्दैनाँै, हाम्रँे देवता नबस भन्छ हाम्रँे बाबु–बाज्या–पुर्खादेखि चलेको चलन हामी छाड्दैनाँै। '

Comments

  1. साह्रै मन पर्यो तपाइको लेख....मेरो सुदुरपस्चिम संग नाता भएर होला मलाई त अति नै मन पर्यो.. मा पनि गएको छु, सुर्खेत बाट दुन्गेश्वोर लकान्द्र गाउँ सम्म गएको छु.. हाम्रो यात्रा लगभग ५ - ६ दिनको थियो.. माओबादीको अति भएको बेला भएर होला तपाइले भनेको जस्तै भागाभाग हुन्थ्यो..गाउँ तिर... त्यहि बेला दुन्गेश्वर मा ठुलो पहिलो गएको थियो.. देखेर गएको ठाउँ .. फर्कदा कति नरमाइलो.... पुरै हिडेर सुर्खेत फर्केको.... लेख्दै गर्नुस ल.... रमाइलो लाग्छ पदन...///

    ReplyDelete

Post a Comment

Thank you for watch.