शब्द/तस्वीर :  देबकी बिष्ट
देख्दै घीनलाग्दो, मैलो कुर्ता–सुरवाल, अल्भि्कएको, गुजुल्टिएको कपाल, निधारमा रातो टिका, नसालु आँखा र लजालु व्यवहार। यी थिइन् – सपना ठगुन्ना। दार्चुलाको दुर्गम ऐरकोट गाउँबाट भारतीय सीमानाको बजार धार्चुलामा साथीहरूसँग किनमेलका लागि आएकी थिइन् उनी। मैले फोटो खिच्दा उनी लजाइरहेकी थिइन्। भन्दै थिइन्, …गाउँमा पनि दोकान त छ। तर, यहाँको जस्तो झिलिमिलि कता पाउनु र त्यहाँ।'
 सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुला वारि भारत र पारि नेपालबीचमा सुन्दर, शान्त बगेको छ महाकाली नदी। यही नदीले छुट्याएको छ दार्चुला र धार्चुलाको सिमाना। दार्चुला र धार्चुलाका नेपाली र भारतीय बजारलाई एउटै झुलुङ्गँे पुलले जोडेको छ। भारतीय सीमा सुरक्षाबलका प्रहरी तैनाथ छन् भने अर्काे मुखमा नेपाली पुलिसहरू । शुद्ध र स्निग्ध महाकाली नदीको प्रदूषण यहीँबाट शुरु हुन्छ। भारत र नेपालका घरको भान्सादेखि ट्वाइलेटसम्मका फोहोर नदीमा मिसाइन्छन्। दार्चुलाका बासिन्दा नून र कपडाका लागि उनीहरू भारत जाने गर्दछन्।
तीन वर्षसम्म अघि दार्चुला जाँदा भारतको पीच सडकमा सरर्र मोटर–गाडी गुडेको देखिन्थ्यो। नेपालतिर भने सामसुम पहरा र चट्ानहरू देखिन्थेे। अहिले केही हदसम्म भए पनि नेपाली दार्चुलामा गाडी गुडिरहेका देखिए। दर्चुला सदरमुकाम खलङ्गामा २५–२६ वटा जति महिन्द्रा र टाटासुमोका गाडीहरू गुडिरहेका छन्। ती पाखा, पहरा र घरका छानाहरू सडकमा उडेको धुलोले भरिएका छन् भने त्यहाँका स्थानीय बासिन्दा गाडीमा गुड्न पाएकोमा खुशी छन्।
वरिपरी रहेका गाविसबाट विहान ३ बजे हिँडेर दूध र हरियो साग पनि बेच्न आउने महिलाहरू आजभोलि गाडी चढेर बजार ओर्लिन्छन्। घर चाँडो पुग्ने हतारले गर्दा कुरा गर्न पनि मान्दैनन्। महाकाली नदीको किनारको धाप गाविसका बासिन्दा आजभोलि गाडी नभई पाइलै नसार्ने भएका छन्। तर, बाटो भने सिजनल छ। वर्षातका बेला यातायात चल्ने सम्भावना छैन नै भने हुन्छ। पहिले सामान बोक्दा बोक्दा तालु खुइलिएकाहरू आजभोलि सामान गाडीमा राखेर घरसम्म ल्याउन पाउँदा दङ्ग छन्। गाडी पुगेपछि दार्चुला जिल्लामा धेरै परिवर्तन आएको छ। राजनीतिक पार्टीका नेताहरू सदरमुकामबाट भाषण गर्न छेउछाउका गाउँ पुग्नथालेका छन्। सदरमुकाममा हुने कार्यक्रममा  गाडी चढ्नकै लागि कार्यकर्ताहरू आउनेक्रम बढेको छ। खलङ्गामा चैत्र २४ गते माओवादीहरूको देशव्यापी जिल्ला घेराउ कार्यक्रममा केही वर्षका केटाकेटी कार्यक्रम स्थानतिर दौडिरहेका थिए।  एक हातले विनाहुकको पाइन्ट स्याहार्दै विनासिसाको चश्मा टाउकोमा राखेर। उनीहरूलाई झट्ट सोध्दा बाबु तिमीहरू कहाा जाँदै छौ भन्दा, …बर्यातमाई झान लार्यु, हलुवा, चाउमिन पाइने हो, काकाले झट्टु झा भण्यो हो' (विवाह हँुदै छ, हलुवा, चाउमिन पाइन्छ काकाले चाँडो जाऊ भन्नुभयो )' भन्दै थिए। कार्यक्रमसँगै केही गाउँका महिलाहरू डिलमा बसेर भाषण गरिरहेकाहरूको कुरा काटिरहेका थिए, …यिनुन जे जाण्या आफूलै जाण्या सोच्चान्, (जे कुरा पनि आफूले नै थाहा पाएको सोच्छन्)'।  सबै आफ्नो कामको चटारोमा देखिन्थे। आरामले बसेर कुरा गर्न कसैलाई पनि फुर्सद थिएन।  कोही चैतालु कोसेली बोकेर दिदी–बहिनी, फुपुलाई भेट्न गइरहेका थिए भने कोही खेतमा सुकेर पहेलो भएका गहुँ काटेर चुट्न व्यस्त देखिन्थे। आफ्नी फुपूलाई भेट्न धाप आएकी अनिता भट्ट भन्दै थिइन्, …अहिले गाउँ–घरमा युवा जमातहरू त्यति देखिँदैनन्, पहिले बाध्यताले गाउँ छोडे, अब रहरले गाउँ छोड्दै छन् ठिटाहरू। शहर–उन्मुख भएको गुनासो छ बुढापाकाहरूको। प्रत्येक युवा–युवतीलाई आधुनिकताले निकै छोएको छ। फेसनेबल लुगाहरूले दार्चुलाका युवतीभन्दा पनि युवाहरू सजिएका देखिन्छन्। दार्चुला बजारका धनबहादुरले हातभरि ट्याटु खोपेका छन्। ट्याटु बनाउने कुनै नौलो कुरो होइन। उनी भन्दै थिए, …फेशनका कुरा छोडिदिनु, यहाँका केटाकेटीहरू एकदम सचेत भइसके। यसबारेमा कहाँ के चलेको छ सबै थाहा हुन्छ।' तीन वर्षअघिसम्म दार्चुलाका बासिन्दाका हातमा मोबाइल देख्न गाह्रो थियो। तर, अहिले नेपाल टेलिकमले आफ्नो सुविधा विस्तार गरेदेखि सबैका हातमा मोबाइल देख्न पाइन्छ। केही आफ्नो सुविधाको लागि प्रयोग गरिरहेका छन् भने केही युवाहरूका लागि भने सङ्गीतको माध्यम बनेको छ मोबाइल। जसको हातमा मोबाइल र कानमा एयरफोन झुन्डिएको छैन, उनीहरू आफूलाई तुच्छ ठान्छन्।

Comments