शब्द/तस्वीर :  देबकी बिष्ट
…गयो डोटी, खायो रोटी, फकर्िंदाखेरि धोती न टोपी।' भनिन्छ डोटी जानेहरूले सबै गुमाउँछन्। डोटी गएका कर्मचारीले त्यहीँकी युवतीसँग बिहे गर्नुपर्ने बाध्यता थियो रे पहिले–पहिले। डोटीका युवतीहरू सबैभन्दा चलाख मानिन्थे कुनै जमानामा। तर, अहिलेको डोटीमा त्यस्तो केही देखिँदैन। कुनै पनि पाहुना अथवा कर्मचारीले डोटी गएकै कारणले न त धोती न टोपी हुनुपरेको छ न त यहाँका सोझा, निश्चल र निश्कलंक युवतीहरूले कुनै अपरिचित युवामाथि आँखा नै लगाएका छन्। डोटी आफ्नै समस्या, आफ्नै सुसेधन्दा र आफ्नै कथाव्यथामा जेलिएको छ, बेरिएको छ।
तीनवर्ष पहिले डोटीमा आउँदाको दृश्य अहिले पनि आँखामा नाचिरहन्छ। दिपायल पिपल्ला बजारको होटलको धारामा एकजना किशोरले नसोधी पानी खाएको निहँुमा एउटी अधबैंसे महिला उनीमाथि जाइलागिन्। …तँ डुम हो कि, के हो, नसोधी पानी खाइस्' भन्दै त्यो किशोरलाई जगल्ट्याइन्। ती किशोर केही बोलेनन्। धन्न वरपरका मान्छेले छुट्ट्याएका थिए।
छुवाछुतको भावनाले अतिग्रसित ठाँउ जसको कारण उनीहरूले न पानी पिउन दिने, न त दूध हालेको चिया नै। होटलमा भात खान जाँदा धेरै खाना खालान् भनी पकाउँदा सोडा हालेर पकाउने जसका कारण अर्को दिन पेट नै चल्ने। सेती नदीको छेउ–छेउमा स्थानीय बासिन्दाले सोफीका बोतलहरू (तल्लोस्तरको रक्सी) खाएर फ्याँक्ने गरेका थिए, तर अहिले पिपल्ला अर्थात् डोटीमा पुग्दा निकै परिवर्तन भइसकेको रहेछ। बस्ने होटलदेखि लिएर खानेसम्मको र छुवाछुतको रूढीवादी भावनमा समेत निकै परिर्वतन आएको रहेछ।
जसको उदाहरण थिए, पिपल्ला बजारमा दलित युवाले खोलेको डेरी। पिपल्ला आर्थात् दिपायलबाट डोटीको शैलेश्वरी अर्थात् सिलगडी १५ किलोमिटरको दुरीमा रहेको छ। अग्लो डाँडामा अवस्थित सिलगडी बजार पुरानो बजार हो, जहाँ नेवार जातिहरूको बढी बसोबास रहेको पाइन्छ।
डोटी जिल्लालाई २०६३ सालको शैलेश्वरी घटनाले चर्चित बनायो। ०६३ मा शैलेश्वरी मन्दिरको प्राङ्गणमा दलित र गैरदलितबीचमा भएको विवाद बढ्दै गएपछि मन्दिरमा तालाबन्दी गर्नुपरेको थियो। आजभोलि शैलेश्वरी मन्दिरमा पूजा गर्दा दलित र गैरदलितको पुजा गर्ने ठाँउ एउटै छ। पूजामा कोरो अक्षेता प्रयोग गर्ने सहमति भएपछि मात्र विवाद साम्य भएको हो।
नगरपालिकासँगै जोडिएका गाउँहरू कल्लेना, तागरी, उडीतोला लेकछाटा, बागछाटाँ  हुन्। नगरपालिका वरिपरीका गाविसमा पनि विकासको गति कछुवाको तालमा छ। नगरपालिकाभन्दा टाढा रहेका गाविसको कथा अझै कहालीलाग्दो छ। दुर्गम गाविसहरू बगलेक, खातिवाडा, रामागाउँ, तिर्सन, बाजककानी, भूकिराजमाण्डौ र कपलेखी हुन्। यहाँका ब्ँासिन्दाहरू गास–बासका प्रत्येक चीजहरूको लागि दैनिक सिलगडी बजार धाउँछन्। सुदूरपश्चिमका केही क्षेत्रीय कार्यालयहरू सिलगडीमा छन् भने केही कार्यालय दिपायलको राजापुरमा रहेका छन्।
एकाबिहानै गाउँबाट हिँडेर आफ्नी आमासँग दाउरा बेच्न आएका ९/१० वर्षका बालिकाहरू पिठ्यँुमा दाउराको भारीद्वारा थिचिएका छन्। कापी र कलम समाउने उनीहरूका सुकोमल हातहरूमा नाम्लो छ। विनाचप्पल ती कङ्कर ढुङ्गाहरूमा आफ्नी आमालाई पछ्याउँदै घर गुजारा गर्ने अभिभावकको पेशामा सहयोग गरिरहेका छन्। निश्छल, निष्कपट अनुहारमा टल्किएको रातो टिका, ओठमा लालीगुराँस फुलेझँै पोतिएको लाली, कानमा सिउरेको फूल, चोलो र फरिया लगाएर, बजारमा पुगेका उनीहरूको जीवनी कुनै डकुमेन्ट्रीका पात्रको भूमिका जस्तै देखिन्छ।
अपरिचित मान्छे देखे भने उनीहरू आमाको पछ्यौरामा अनुहार छोप्छन्। बालिकाहरूकी आमाले भनिन्, …उई यी फोटा खिची क्या गन्या हौ, धै हामी खि देखाउँदा' (यो फोटो खिचेर के गर्नुहुन्छ, हामी पनि हेछार्ंै देखाउनु न)। उनीहरू आफ्नो अनुहारलाई डिजिटल क्यामेरामा हेर्न लालायित र उत्सुक थिए। एकैपटक आफ्नो फोटो डिजिटल क्यामेरामार्फत् देख्दा उनीहरू पुलकित भए। गुल्मा देवीकी छोरी गङ्गाले भनिहालिन्, …अरे क्या हो, यो फोटा खिच्या तमीले एकै चोटी आयो हे' (यो के हो तपाईंले खिचेको हाम्रँे फोटो एकै चोटी देखिँदो रहेछ )। सबै फोटो हेर्न झुम्मिएका थिए।
फर्कने बेलामा मलाई ती निर्दोष श्रमिक बालिकाहरूको याद आइरह्यो। मैले डोटी गएर धोती न टोपी त हुनुपरेन, तर मेरो मन भने किनकिन त्यतै–कतै हरायो।


Comments