चार केदारको स्थल: बैतडी


शब्द/तस्वीर: देबकी बिष्ट
गुराँसको सिँगारपटारमा मस्किँदै सुदूरपश्चिमका डाँडाकाँडाले वसन्त ऋतुलाई बिदाइ गरेका छन्। बस रोकिने स्थललगायतका स्थानहरूमा काफलका डाला बोकेका साना बाल–बालिका एकैचोटि यात्रुतिर झुम्मिन्छन्। उनीहरूले भट्याएको …काफल–काफल'सँगै कोइलीको सुरिलो आवाजले वनजङ्गललाई गुन्जायमान बनाएको हुन्छ।
 यस्तै दृश्य र प्रकृतिले बैतडी जिल्लालाई सजाएको छ। महाकाली नदीको पारिपट्टि भारतको उत्तराखण्डको पिथौरागड जिल्ला पर्दछ भने उत्तरमा दार्चुला, पूर्वमा बझाङ, डोटी र दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन्। यो जिल्लाको नाम बैतडी रहनुमा पनि केही ऐतिहासिक कुराहरू छन्। बैतडी–वरिपरीका उच्च पहाडहरूमा चारवटा केदार देवस्थल छन्। दक्षिणमा ग्वाल्लेक, पूर्वमा रोला, उत्तरमा देउलेक र पश्चिममा ध्वज केदार पर्दछन्। यसका साथै सात बहिनी भगवतीमध्ये त्रिपुरासुन्दरी देहीमाडाँै (निङ्गलासैनी) भगवतीका नामले पनि प्रसिद्ध छ। यी देवीहरूको मन्दिरमा दशँैमा हजारौं राँगाहरूको बली चढाइन्छ। यी केदारहरू आराध्यदेव महादेवका रूप हुन् भन्ने जनविश्वास छ।
बैतडी जिल्ला आध्यात्मिक हिसाबले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरूमा वर्णित छ। यी देवस्थलहरूमा यात्रा गर्नसके चारधाम गरेसरह हुन्छ भन्ने भनाइ पनि छ। हाल ग्वाल्लेक केदार पर्वतलाई पहिले वायोत्तड भनिने  र त्यहाँ ज्यादै हावा लाग्नेगर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु× उत्तड–वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायेत्तडबाट अपभं्रश हँुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो। बैतडी जिल्ला अमर शहीद दशरथ चन्दको जन्मथलो भएकाले नगरपालिका पनि उही अमर शहीदको नाममा रहेको छ।
 बैतडी जिल्लाको सदरमुकाम गोठालापानी हो। नाम गोठालापानी रहे पनि यहाँ पानीको अभाव छ। खानपिन, रहनसहनमा राजधानी काठमाडौँबाट फरक भए पनि पानीको पीडा साझा छ। यहाँका बासिन्दा पानी आएको समयमा आ–आˆना ड्रमहरूमा भरेर राख्छन्। पिउने पानी सुधीगाड (नदी) बाट ल्याइएको छ। बैश्ााख जेठमा भने पानीको झनै समस्या हुने कुरा बताउँछन्, मदनराज भट्ट। त्रिपुरासुन्दरीको मेलामा भने बजार क्षेत्रमा एक दिन पानी बन्द गरेर भए पनि मेलाका दर्शनार्थीहरूलाई पानी पुर्‍याउने गरिन्छ। बैतडी जिल्लाको सदरमुकाम पहिले पाटनमा थियो। पाटनबाट २६ किलोमिटर माथि सरेर अहिले गोठालापानीमा स्थापित भएको हो। पाटन गोठालापानीभन्दा हरेक कुरामा सुगम छ। पिउने पानीको पनि व्यवस्था छ।
पाटनका सरकारी कार्यालयहरूको भग्नावशेषले द्वन्द्वको झझल्को दिन्छ। बैतडी जिल्ला सडकका हिसाबले निकै सुगम छ, तर पनि सडकका बारेमा भागबण्डा नमिल्दा राजनीतिक पार्टीको दबाबदेखि लिएर ठेकेदारहरूसम्म विवादमा छन्। ड्रिलिप (एशियाली विकास बैङ्क) अर्न्तगत प्रोजेक्टले सन् २०१२ मे ३ सम्म बैतडी जिल्ला–वरपरका गाविससम्म बाटो पुर्‍याउने उद्देश्य लिएको छ। देहीमाडौँ, गिडेगाडासम्मको बाटो बनाउने जिम्मा लिएको छ। अहिलेसम्म १६ किलोमिटरसम्मको सडक–निर्माण कार्य सम्पन्न भएको कुरा इन्जिनियर राजकुमार राई बताउँछन्। अहिले दशरथ नगरपालिकासँगै जोडिएको ग्वाल्लेक गाविस हँुदै नागार्जुन गाविसमा बाटो अवरोध भएको छ। केही असहमतिका कारण अवरोध भएको र सीडीओ, एलडीओलगायतका स्थानीय राजनीतिकर्मीको सहकार्यमा स्थानीय बासिन्दासँग मिली बाटोमा भइरहेको अवरोध–कार्य हटाउने प्रयत्न भइरहेको कुरा खगेन्द्र अवस्थी बताउँछन्।
शिक्षामा पनि वैतडी अगाडि छ। स्थानीय युवतीहरू शिक्षाशास्त्र लिएर उच्च शिक्षा ग्रहण गर्न रुचाउँछन्। यसो हुनुको पछाडि विद्यालयमा शिक्षकको जागिर पाउने सजिलो र ठूलो मौका हो, भन्ने उनीहरूको ठम्याइ छ।  शिक्षाशास्त्रमा स्नातक गर्ने ललिता चन्द भन्छिन्, 'पढ्न पनि सजिलो, पछि गाँउमै पढाउन पनि मिल्ने हुनाले यही रोजिन्छ।' उनीहरू त्रिभुवन विश्वविद्यालयको शिक्षा विषय हटाउने निर्णयप्रति चिन्तित देखिएका थिए।

Comments