स्मरणमा जनयुद्ध

देबकी बिष्ट
काठमाडौँ — "केटा भए ठोक, केटी भए छोप" द्वन्द्वकालमा सुरक्षाकर्मीले यसरी फलाकेको उनको मानसपटलमा अझै झल्झलाउँछ। सँगै जङ्गल पसेका केटीमध्ये अहिले आफूमात्र माओवादी संगठनमा रहेकोमा उनलाई गर्व लाग्छ। एसएलसी परिक्षा दिएर बसेकी जानकी ऐर अखिल महिला जिल्ला संघ बैतडीमा संगठनको काम गर्छिन्।
जानकीमा युद्धकालको क्रान्तिकारी जोश अझै छ। अहिले पनि उनी बडोजोडतोडका साथ आफ्नो गौरवशाली पार्टी र क्रान्तिका कुरा गर्छिन्। सुदूरपश्चिमको बैतडी जिल्ला शिवलिङ्ग गाविस च्वाघड –५ बाट रूढीवादी परम्परालाई चिर्दै २०५८ सालमा अखिल क्रान्तिकारीमा संगठित हुदै उनी भूमिगत जीवका लागि जङ्गल पसिन्। उनका बुवा माओवादी नभए पनि जानकीको घर माओवादीको सेल्टर थियो। जनयुद्धलाई सहयोग नगरे माओवादीबाट डर अनि सहयोग गरे सुरक्षाकर्मीबाट डर। डर र त्रासमा चेप्टिएर उनी माओवादीका कुरा सुन्ने गर्थिन्। उनी स्मरण गर्छिन् …माओवादीहरू रातिराति घरमा आउँथ्ये बुबासँग बसेर क्रान्तिकारी कुरा गर्थे र म पढेको बाहना गरी उनीहरूको कुरा सुन्थ्येँ'। माओवादीका कुरा सुन्दासुन्दै उनको मन कहिले क्रान्तिकारी भयो उनैलाई थाहा भएन। १६ वर्षे जवान केटी एक्कासी माओवादीमा जाँदा घरका आमाबुवा धेरै रोए, रोक्न खोजे तर क्रान्तिकारीभावले उनलाई जङ्गलतर्फ डोर्‍यायो।
पार्टीले जनयुद्धमा लागेका सबै केटीहरूलाई कपाल काट्न लगायो। केटीहरू पाइन्ट सट र कपाल काटेर केटा जस्तो बनेर हिड्न थाले। पहिलो चोटी जङ्गलमा कपाल काटिँदा जानकी धेरै रोएकी थिइन्। उनी द्वन्द्वकालमा गाँउमा हुने हिंसा, जारी, बहुविवाह, छाउपडी, देउकी जस्ता कुप्रथा विरूद्ध जनचेतना जगाउने काममा लागिन्।
राज्यआतङ्ककोे सन्त्रास र मृत्युको बीचमा पनि उनको मायाप्रीति फक्रियो। क्रान्तिकारीका कुरा गर्दा आगोको फिलुङ्गा ओकल्ने जानकी मायाप्रीतिका कुरा गर्दा टाउको निहुराउँदै लजालु मुस्कुराउँछिन्। मन साटिएको पृष्ठभूमि उनी यसरी केलाउँछिन् "खै पहिला त म उनलाई सम्मान गर्थे दाइ भन्थेँ,माया बस्ला भन्ने सोचेकै थिइँन।"
बनवासमै भेटिएका …राम' थिए अहिलेका विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सेती महाकालीका इन्चार्ज रमिल बम। पहिले रमिललाई दार्चुलाकी गिरी थरकी एउटी केटीले मन पराउँथी। उनीहरूको विवाह पनि हुनेवाला थियो तर ऊ अर्कैसँग भारततिर सुइँकुच्चा ठोकेपछि जानकी रमिलको नजिक पुगिन्। पार्टीको कामले जानकी ३ महिनाका लागि हुम्ला गएपछि रमिललाई जानकीको मायाले सताएछ। रमिलले माया, पिरतीका कुरा सहित विवाह प्रस्ताव राखी पत्र पठाए।  प्रेमपत्र भएपनि पार्टीले चेक गरेर मात्र आफूलाई दिने गरेको बताउँछिन् उनी।  रमिलले धेरै करगरेपछि तेस्राे पत्रमा मात्र जानकीले उनको प्रेमस्वीकार गरिन्।
२०६२ सालमा बैतडी, दार्चुला र बझाङ्गको सामुहिक पार्टी कार्यक्रममा खगराज भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उनीहरूबीच विवाह भयो। विवाह लगत्तै रमिलको सरूवा कंचनपुर भयो र सात महिनासम्म जानकी रमिलबाट टाढा भइन्।
जनयुद्धमा जानकीले थप्रै स्मरणहरू समालेकी छन्। कति रमाइला छन् भने कति दुःखदायी। रमिलसँगको मिलन तथा छोरी रोजिला पाउनु उनका लागि सबैभन्दा खुशीको समय थियो भने आफूसँगैका साथी गुमाउनु पर्दाको समय पीडादायी। अछामको रौलेश्वर गाविसको घटनामा ६२ जना मारिएको सम्झीन्छीन् जानकी। बबिता नेपालीलाई जानकीले उसको घरबाट आफुसँगै युद्धमा लगेकी थिइन्। बविता भाग्दाभाग्दै सशस्त्र प्रहरीको गोलीको शिकार बनिन्।  तर पनि जानकीलाई सुरक्षाकर्मीसँग कुनै रिसिवी छैन। उनी भन्छिन् मास पिस्ने बेला ढुङ्गा पनि पिसन्छ, हामी सबै एउटै नेपाली आमाका छोरीछोरी हौ।'

Comments