डरै डरमा बाँचेको एउटा सीमान्त बस्ती



देबकी बिष्ट
न गासको आश छ न बासको चिन्ता। अहिले पनि खुला आकाशमुनि दिन बिताइरहेका छन् उनीहरू। भारत पसेर मजदुरी गरे मात्र उनीहरूको चुल्होमा आगो बल्छ। हरेक साँझ नदीको बहावसँगै बासको आश बगरमा परिणत हुँदै छ उनीहरूको। एकातिर महाकाली, अर्कोतिर जोगबूढा नदी। नेपाल–भारत सीमाको दश गजाका बीचमा बाँचिरहेका छन् ३१ घरपरिवार। सुदूरपश्चिममा रहेको सीमान्त जिल्ला कन्चनपुरको वैधानिक सीमाभित्र महाकालीपारिको टापु दोधारा–९, कुतियाकवरमा वर्षात लाग्यो कि स्थानीय बासिन्दाको  भोक, प्यास, निद्रा सबै हराउँछ। उनीहरू ज्यान बचाउने चिन्ताले पिरोलिन्छन्। रात पर्‍यो निद्रा लाग्दैन डरले, निद्रासँगै कुन बेला नदीमा पानीको बहाब बढेर बगाउने हो † जीवन पुरै अनिश्चित छ।  राधिका सुनार २०२७ सालदेखिकी बासिन्दा हुन्। शुरुमा घर र तरकारीबारीलाई यथेष्ट पुग्ने तीन कठ्ठा जमिन थियो। अहिले तीन इन्च पनि बाँकी छैन। तैपनि उनी आफ्ना ६ वटा छोराछोरी र श्रीमान्सहित आफू सकुशल रहेकोमा खुशी छिन्। गएको वर्ष जोगबुढाको भेल र महाकालीको बाढीले उनको घर, एउटा गाई, ३ वटा बाख्रा, २ बोरा गँहु र १ बोरा धान बगाइदियो। अहिले स्थानीय मानिसबाट पाएको जग्गाको सानो टुक्रामा घर बनाउँदै छिन्।
 यो वर्ष घरमा भएको आगलागीमा उनका श्रीमान् कुलबहादुर सुनारकोे कम्मर जलेकोले अहिले उनी काम गर्न सक्दैनन्। भारतमा पट्टी गरेको ध्याडी (मजदुरी) बाट दैनिक भारु १०० आउँछ। काखको सानो दुधे बालकलाई बनाउँदै गरेको घरको छानोमा बनाइएको झुलामा राख्दै राधिकाले भनिन्,' गएको बर्खादेखि नै खुला आकाशमा सुतिरहेका छौँ, अहिले बल्ल सानो जमिनको टुक्रा मागेर घर बनाउँदै छौँ।' राधिकाका २२ वर्षीय जेठा छोरा भारतको सिमलामा मजदुरी गर्दै छन्। उनका छोराले समेत …पैसाको अभावले गर्दा' अहिलेसम्म नेपाली नागरिकता पाएका छैनन्।
 …वर्षातको बेला नेपालतिर पस्न बाढीले रोक्छ, भारत पसौँ भने भारतीय एसएसबीले। वर्षातमा हामीलाई बाँच्नु न बहुलाउनुजस्तो हुन्छ' भन्छन् मानबहादुर सुनार। उनी एउटा आँखा देख्दैनन्। पोहोर सालको बाढीपछि मानबहादुरको जीवनको गति रोकिएको छ। त्यो बाढीले उनकी जीवन–संगिनीलाई बगायो। त्यस दिनदेखि मानबहादुर आफना पाँच सन्तानको लालनपालनमा जुटेका छन्। उनले आफ्नो आँखाको उपचारसमेत गर्न भ्याएका छैनन्। अब त उनको बचेको  आँखा दृष्टिहीन हुनथालेको छ।
 उतिबेला मानबहादुरको १५ कठ्ठा जमिन थियो। अहिले नदीको कटानले १५ इन्च पनि बाँकी छैन। अर्काको जमिनमा दःुखजिलो बसिरहेका छन्।
 दोधाराका जनतालाई प्रकृतिले असह्य दुःख दिएको छ। तर, प्रकृतिसँग त लड्न पनि सकिन्छ। यो ठाउँमा प्रकृतिसँग मात्रै लडेर पुग्दैन। अनेक प्रकारका झमेलाहरूको सामना गरिरहनुपर्दछ। आफ्नै किस्मतलाई कोसेर बस्छन् उनीहरू। छोराछोरी स्कुल पठाउने उमेरका भइसकेका छन्। तर, कहाँ पठाउने? स्थायी अन्योलमा बाँचेका छन् उनीहरू। नेपालपट्टिको विद्यालयमा पठाउँ भने नदीको पीर, भारत पठाउँ त भविष्यको डर।

Comments

  1. Thank you so much. Devaki Ji keep it up.
    you are doing very great work for our beautiful Far western.
    we are always with you.
    Dev Raj Tamata

    ReplyDelete

Post a Comment

Thank you for watch.