सौतेनी व्यवहार भोग्दै दोधारा–चाँदनी

शब्द/तस्वीर: देबकी बिष्ट
सानो छँदा विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो र सोधिन्थ्यो, 'नेपालको नक्सामा पनि नभएको ठाँउ कुन हो?' जवाफ आउँथ्यो, 'दोधारा–चाँदनी।' यी दुई गाविसहरू नेपालको नक्साबाट अलग रहेर पनि समय–समयमा नेपाली सञ्चारमाध्यममा छाउने गर्दछन्। कहिले बाढी पसेर यी दुई गाउँलाई सताउने गर्छ भने कहिले भारतीय सीमा–सुरक्षा बल (एसएसबी) पसेर।
महाकाली नदी–पारिको टापुमा अवस्थित यी दुई गाविसमा नेपाली पैसा चल्दैन र नेपाली भाषा पनि बोलिँदैन। आफूलाई नेपाली भन्ने झल्को यहाँका बासिन्दाले चुनावमा मात्र थाहा पाउँछन्। यहाँका बासिन्दाले आफ्ना समस्या नेपाल सरकारसामु नराखेका होइनन्, तर राजधानी काठमाडौँ उपत्यकाभित्र खुम्चिने सरकारले दोधारा–चाँदनीका समस्यालाई कहिल्यै गम्भीर रूपले लिएन। नेताहरू पुग्छन् त भोट माग्न मात्र। अरू बेला उनीहरू सौतेनी व्यवहार देखाउँछन्।
स्थानीय व्यक्तिहरू खानपिन, स्वास्थ्यसेवा, दैनिक उपभोग्य वस्तु किनमेल र आफ्ना आवश्यकता पूर्ति गर्नका लागि भारतको खटीमा धाउने गर्दछन्। खटीमा भारतको चम्पावत, खटीमा, बङ्गाल कलौनी तीनवटा जिल्लासँग जोडिएको छ। पहिले–पहिले दोधारा–चाँदनी भारतको बनवासाको जङ्गल भएर पैदल जानुपर्दथ्यो। अहिले महाकाली नदीमा एशियाकै सबैभन्दा लामो झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी अहिल सुगम भएका छन्। यी दुई गाविस शिरा (उखुलाई पेलेर पकाएपश्चात् बन्ने कालो लेदो)का लागि प्रख्यात छन्। यहाँ उखु धेरै उत्पादन हुने हुनाले शिराबाट स्थानीय बासिन्दा घरेलु रक्सी बनाउँछन्। मकैलाई कुटेर शिरा मिसाएर लड्डु पनि बनाउँछन्।
महाकाली नदीपारि भएकाले पनि दोधारा–चाँदनीबाट काठको तस्करी खुब हुन्थ्यो कुनै जमानामा। काठको तस्करीबाट उजाड भएका दोधारा–चाँदनीलाई सामुदायिक वन उपभोक्ताहरूको सक्रियताले केही हरियाली बनाएका छन्।
महाकाली नदीमा बनेको झोलुङ्गे पुलबाट मोटरसाइकल, साइकल र मानिसको आवत–जावत बाक्लै हुन्छ। गाडा चढेर यी दुई गाविसमा जानका लागि भने अहिले पनि भारतको बाटो नै प्रयोग गर्नुपर्छ।  महेन्द्रनगर बजारदेखि झोलुङ्गे पुल झण्डै ११ किलोमिटरको दुरीमा पर्छ।  लगभग डेढ किलोमिटर लामो झोलुङ्गे पुल वारपार गर्न झन्डै आधा घण्टा लाग्छ। पुलबाट मनोरम दृश्यावलोकन गर्दै पार गर्ने हो भने त एकघण्टा पनि लाग्न सक्छ।
पुलबाट ओहोर–दोहोर गराउनका लागि स्थानीय युवाहरूले …मुन्दे्र यातायात' को व्यवस्था गरेका छन्। उनीहरूले मोटरसाइकलमा प्रतिव्यक्ति नेपाली ५० रूपैयाँमा पुल तार्ने काम गर्छन्। स्थानीय युवा दीपक तिवारी ६/७ महिनादेखि मुन्द्रे यातायातमा छन्। उनी भन्छन्, …हाम्रो मोबाइल नम्बर हुन्छ यहाँका मान्छेसँग, हामीलाई फोन गर्दा जुन बेला पनि उपलब्ध हुन्छाँै, रातिको १२ बजे सुत्केरी महिलालाई समेत हामीले मोटरसाइकलमा बोकेर महाकाली अञ्चल अस्पताल पुर्‍याएका छौँ।'
दोधारा–चाँदनीमा प्रायः डोटेलीभन्दा पनि मगर, गुरूङ, थापाहरूको बाहुल्यता रहेको छ। यहाँका स्थानीय बासिन्दाका घरहरू प्रायः माटोले बनेका छन्। दोधारा–चाँदनीमै रहेको एक हो ३१ घरपरिवार कुतियाकवरमा अहिले पनि अनिश्चित जीवन गुजारा गरिरहेका छन्। उनीहरूलाई कतिबेला बाढीले सोरेर लाने हो टुङ्गो छैन।  जोगबुढा र महाकाली नदीको बेगले ३१ घरपरिवारको सपनालाई बगरमा परिणत गराएको छ। स्थानीय खड्के बुढाऐरको कुतियाकवरमा २ बिगाहा जमिन थियो। २०३९ र २०४९ सालको सबैभन्दा ठूलो बाढीले उनको सबै जमिन बगाएर लग्यो। अहिले उनी जर्काको जमिनमा झुप्रो हालेर बसेका छन्। कुतियाकवरको २०/२५ बिगाहा जमिन बगाई बाढीले बगाएर बगर बनाएको छ।

Comments