रामाघाटको भीरमा एउटा सपना

वर्षौदेखि रामाघाटको गति नियालेर बसेकी छिन मानसरा शाही। जसलाई न आफ्नो जीवनको गति थाहा छ न रामाघाट बजारको। यही बजारको छेउमा छ उनको फुसको टहरो। जसलाई उनी घर भन्छिन। उनका श्रीमान् लङ्गडा छन्, उनका छोराछोरी धुलोले छोपिएका छन् र तिनैको चिन्ताले उनको अनुहार टिठलाग्दो बनेको छ।
अछाम र दैलेखको बीचमा पर्ने रामघाट पहिले बजार नै थिएन। एकोहोरो खोला कराउँथ्यो। घुमाउरो बाटोसँगै गाउँसम्म आइपुग्दा, गाडीसँगै थोरै विकास र अलिकति आशा पलायो। यतिखेर रामघाट खोलामा पुल बन्दै छ। प्रत्येक पटक राजनीतिक दलहरुले छाड्ने विकासका भाषण मानसराले कैयन पटक सुनेकी छिन्। पुल बनेपछि के–के हुने हो उनलाई थाहा छैन। जे होस् अहिले रामाघाट सानो बजारको रूपमा फेरिएको छ। जहाँ दैनिक अछामबाट ओहोरो दोहोरो गर्ने अछामीहरू त्यहाँका ग्राहक बन्ने गर्दछन्।
रामघाट बजारको भौगोलिक अवस्था जति डरलाग्दो छ त्यति नै डरलाग्दो छ मानसराको जीवनकहानी पनि। माथि भीर र तल ठूलो खहरे खोला। घरसँग छाती जोडेर बसेको छ एउटा अजंगको पहाड। जो कतिखेर उनको छाना भत्काएर उनको खाटसम्म आइपुग्छ त्यो उनैलाई थाहा छैन। त्यो भीरलाई सम्झी उनी राति सुतेको बेला पनि झस्किने गर्छिन् घरलाई भीरले पुर्र्ने हो की भनी। उनका लागि विकल्पहरु छैनन्। यतिखेर उनीसँग सबैभन्दा मनभरी डर छ, जो हरेक रात बल्भि्कन्छ।
हरेक वर्षातमा मानसराको सिरानी भिजेको छ। कारण, उनको छाना चुहिएको छ। घरको छानो चुहिनु उनका लागि कुनै नयाँ अनुभूति भने होइन। घरको छाना फेर्ने रहर छ मानसराको। उनले भनिन्, रहर गरेर मात्रै के गर्नु, गरिब मान्छेले। उनको अगेना र सुत्ने खाटसँगै जोडिएको छ। अगेना जहँाबाट धुवा पुत्याइरहेको छ र उनका वर्षौटे छोराछोरीहरु आँखा पुछिरहेका थिए। यो अगेना जसले गरिबीको स्वाद चाखेको छ। मट्टीतेलको ग्यालिन रित्तिएको छ र नुनको भाडो त्यसै पल्टेको छ। कोठामा चामल रित्तिएको कैयन महिना भइसक्यो। त्यही अभावको पूर्ति गर्न उनका श्रीमान् खुट्टा खोच्याउँदै बजारतिर झरेका छन्, पैसा बोकेर।
मानसरालाई आफ्नै उमेरको याद छैन। विहे भएको उमेर याद छैन। “नानै छना व्या ( विवाह) भएको हो कति बर्षकी छ्या थाहा छैन” उनले हाँस्दै भनिन्। हाँस्ता उनको गालामा खाल्डो परेको थियो। शहरतिर यसलाई डिम्पल भन्छन्। यो कुरा मानसरालाई थाहा छैन।
मानसरालाई आफ्नो जीवनका सबै घटनाहरु एउटा संयोग जस्त्ाो लाग्छ। उनी जन्मनु, बिहे हुनु, श्रीमान् लङ्गडो हुनु र दुःख खेप्नु। बिहे अघिसम्म मानसराका श्रीमान् कालापहाड (भारत)मा काम गर्थे। बिहेताका उनका सँगीहरुले परदेशीया भनी उनलाई जिस्क्याउँथे। बिहे भएकै साल उनको श्रीमान्को बंचरोले खुट्टा काट्यो र उनी लङ्गडो भए। कमाई गर्न कालापहाड जान सकेनन् र उनका दुःखका दिन सु्रु भए। यतिखेर मानसरासँग पीरैपीरको भारी छ। पढन नपाएको पीर, छोराछोरीको अंधकार भविष्यको पीर र भत्केकोे घरको पीर। “क्या अर्न्या हजुर उनले भनिन्, नयाँ सरकार आयो भन्छन, गरिवलाई हेर्न्या भन्छन्, हाम्लाई के थाहा हजुर?” थाहा छैन रामघाट बजारमा कुन वर्षा कर्णालीको बाढी पस्ने हो। कतिखेर रामघाट खोला कर्णालीको बेगले हानिएर मानसराकै झुपडीतिर फर्कर्ने हो। तर मानसराको शिरमा भीर छ अनि काखबाट कर्णाली बगेको छ। तैपनि उनको मुहारमा सपना बाँकी छ।

Comments

  1. शिरमा भीर छ अनि काखबाट कर्णाली बगेको छ। तैपनि उनको मुहारमा सपना बाँकी छ। सुन्दर तर पुरा न हुने सपना ..

    ReplyDelete

Post a Comment

Thank you for watch.