सुन्धाराको सडकमा सोनुको कथा


-देबकी विष्ट

http://www.souryadaily.com/2013/02/57916.html
 आमा नहुँदि हुन् त यो सृष्टि जीवित भए पनि निर्जीवझँै हुने थियो । आमा भोको पेट बसेर पनि आफ्नो सन्तानलाई दूध चुसाउँछिन्, चर्किरहेको घाम छेकेर आफ्नो छायाँमा सुताउँछिन् । तर, गएको बुधबार मैले एउटा फरक दृश्य देखेँ ।
सुन्धाराको व्यस्त सडक । थामिनसक्नुको सपना बोकेर हिँडिरहेका मान्छेहरू । सडकको छेउ लागेर हिँडिरहेको बेला भर्खरै जन्मिएकोझँै देखिने एउटा बच्चामाथि मेरो नजर पर्‍यो । बच्चा दुई महिनाको थियो कि † म मात्र कहाँ, त्यस बच्चामाथि सबैको आँखा टाँस्सिएको थियो । भर्खरै संसार देख्न थालेको बच्चामाथि घामले एकप्रकारको रजाइँ गरेको थियो । घामको ताप सहन गर्न नसकेर होला बच्चा छट्पटाइरहेको थियो । थाङ्नामा सुताइएको बच्चाको छेउमा अलि ठूलीजस्तो लाग्ने अर्की नानी पनि बसेकी थिइन् । साइडमा थिए, कुनै औषधिका बट्टा । पछि थाहा पाएँ, ती बच्ची छोरी रहिछिन् । नामचाहिँ सोनु । बच्चा देखेर पैदल यात्रु साइडमा पैसा फ्याँक्दै जाँदै थिए । अलिपर सार्वजनिक शौचालयको छेउमा उनकी आमा फूलमती यादव कुर्सीमा बसेर पानी पिउँदै थिइन् । उनको घर रहेछ–धनुषा । काठमाडांै आएको ६ वर्ष भयो रे † मैतीदेवीमा कोठा गरेर बस्छिन् । श्रीमान् अपांग छन् । उनी पनि सुन्धारामै कतै व्यस्त चोकमा बसेर पैसा माग्छन् । फूलमती त सबलांग छिन् । तर, बडो टीठलाग्दो दृश्य यो थियो कि, सडक यात्रुबाट २ महिनाकी छोरी देखाउँदै उनी पैसा बटुलिरहेकी थिइन् । यो थियो एउटा इमोसनल ब्ल्याकमेल । त्यसबाट उनको घरखर्च चल्छ रे † सोनुप्रति पैदल यात्रु दया देखाउँदै केही पैसा छरिदिन्थे र सँगै आक्रोश पनि पोख्थे । आमा फूलमतीचाहिँ हाँसिरहेकी देखिन्थिन् ।
मैले नजिकै गएर सोधेँ सोनुबारे । उनको नियत प्रस्ट थियो, उनी छोरी देखाएर पैसा कमाउन चाहन्छिन् ।
‘दुईवटी छोरी जन्मिए । यो कान्छी (सडकमा सुताएकी सोनु) छोरा भनेर सोचेको छोरी भइछे, त्यही भएर सडकमा राखेको,’ भन्दै हाँस्छिन् फूलमती । उनी कुनै साहुको घरमा भाँडा माझ्ने काम गर्छिन् । केही पर प्रहरी उभिएका थिए, असइ बिपी ढुंगेल । मैले बच्चाको अवस्थाबारे बताएपछि उनी फूलमतीछेउ गए र ‘यसरी बच्चालाई सडकमा राखेर तमासा नगर, यहाँबाट हटाऊ’ भने ।
फूलमती रिसाइन्, ‘मैले चोरी थोडी ना गर्‍या छु ।’ उनले मलाई आँखा तरिन् । असइ ढुंगेलको पहलमा सडकबाट सोनुलाई उठाइयो । तर, थाहा छैन, फेरि कहाँ गएर फूलमतीले सोनुको पसल थापिन् † त्यहाँबाट हिँड्नेबेला सोनु आमाको छातीमा टाँस्सिएर जोडसँग दूध चुसिरहेकी थिइन् ।

Comments