परिवारकै बर्बादी


बुबा र हजुरबाबाट बलात्कृत युवतीलाई गलत प्रमाणित गर्ने कसरत अभियुक्तबाट हुँदैछ ।
धुलीखेल अस्पतालबाट रेस्क्यू गर्नु अघी । हात जोडेर उद्दार गर्न अनुरोध गर्दै पिडीत साधना
अस्पतालबाट प्रहरीद्वारा रेस्क्यू गरिएकी साधनाको धुलीखेल प्रहरी कार्यालयमा बयान लिइदै
पनौती–२ काभे्रका आठ सन्तानका बाबु ९ भदौमा बुबाको मुख हेर्ने दिन प्रहरी खोरमा पुगे– १९ वर्षीया आफ्नै छोरीमाथि बलात्कारको अपराधमा । १० वर्षकी छँदा हजुरबाबाट बलात्कृत हुन थालेकी साधनाले बाबुबाट समेत त्यही अपराध दोहोरिन थालेपछि ३० साउनमा आत्महत्याको असफल प्रयास गरेकी थिइन् । अहिले उनी गैर–सरकारी संस्था शक्ति नेपालको आश्रयमा छिन् ।

पापको परिणाम
दुइटी विवाह गरेका कार्की थरका अभियुक्त सात छोरी र एक छोराका बाबु हुन् । उनले मकाउमा काम गर्दा अर्की महिलाबाट पनि एक छोरी जन्माएको गाउँलेहरू बताउँछन् । २०६३ सालमा फर्केका उनले आफू नहुँदा कान्छी श्रीमतीले  अर्कै व्यक्तिसित सम्बन्ध राखेको थाहा पाउँछन् र उनीपट्टिकी ठूली छोरीलाई बलात्कार गर्न थाल्छन् । छोरीबाटै यो कुरा थाहा पाएकी आमा भने श्रीमान्ले आफ्नो पोल नखोलिदिउन् भनेर मौन बस्छिन् । यो चक्रव्यूह चलिरहन्छ– परिवारकै बर्बादी नहुञ्जेलसम्म ।
अस्पतालबाट प्रहरीद्वारा रेस्क्यू गरिएकी साधनाको धुलीखेल प्रहरी कार्यालयमा एसएसपी अरुण र डिएसपी जनक भट्राई सामु आफ्नो कुरा सुनाउदै र प्रहरीद्वारा रक्षा नेपाललाई जिम्मा लगाउदै
बलत्कारको आरोपमा पक्राउ परेको प्रकश कार्की
साधनाले हजुरबाबाट पटक–पटक बलात्कृत हुँदा सानो उमेरको डर–त्रासले कसैलाई भन्न सकिनन् । विदेशबाट बुबा फर्केपछि हजुरबा लप्सीबोटको घरमा बस्न गए, जहाँ उनीमाथि जेठी बुहारीसँग लसपस गरेको बात लाग्दा गाउँमै मिलाइएको थियो । यता पनौती–२ को घरमा कार्कीले विभिन्न डरत्रासका साथ छोरीलाई गर्भ निरोधक चक्की खुवाउँदै बलात्कार जारी राखे । त्यस्तो मानसिक र शारीरिक अत्याचार खेपिरहेको लक्षण पीडितमा नदेखिने कुरै भएन । ९ कक्षाकी होनहार छात्राको गतिविधिमा आएको परिवर्तनबाट अचम्मित भएको हाइल्याण्ड अंगे्रजी बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल श्रीराम थापा बताउँछन् । त्यतिबेला स्कूलले अभिभावकलाई बोलाएर साधनालाई चिकित्सककहाँ जँचाउन सुझव दिएको थापाले बताए ।
यस्तो तनावका बीचमा पनि साधनाले २०६७ सालमा ८३ प्रतिशत अंकका साथ एसएलसी उत्तीर्ण गरिन्, तर विज्ञान विषयमा कक्षा ११ राम्ररी पढ्न सकिनन् । घरमा बाबुको अत्याचार कायम थियो । बुबाले ‘जे किन्न जति पैसा चाहिन्छ भन्, तर घरको कुरा बाहिर भने दुनियाँले तँलाई नै बढी थुक्छ’ भनेर धम्क्याउँथे भने आमा कुरै सुन्न चाहन्नथिन् । “यसरी बुबाको श्रीमती भएर बाँच्नुभन्दा मर्नु वेश भनेर धुलिखेलको जङ्गलमा गएर मेटासिड खाएँ”, साधनाले हिमाल सँग भनिन् ।
सिकिस्त अवस्थामा साथी पूर्णिमालाई फोन गरेपछि भएको उद्धारले उनलाई धुलिखेल अस्पताल पु¥यायो । विष सेवन गर्नुअघि उनले ‘सुसाइड नोट’ लेखेर बाबु र हजुरबाको पाप खोलेकी थिइन्, जुन घटनास्थल पुगेका नारायण थापाले पढेर सबैलाई सुनाएका थिए । त्यसलाई पछि अभियुक्त कार्कीले च्यातेर फालिदिए ।
तीन दिन आईसीयूमा रहेकी साधनाले अस्पतालमा पनि विष खानुको त्यही कारण बताएकी थिइन् । डाक्टरहरूले रिपोर्टमा त्यही कुरा लेखेको थाहा पाएपछि आत्तिएका कार्कीले त्यसलगत्तै पनौतीका बस्नेत थरका एकजना युवकसँग यो केसलाई जसरी भए पनि दबाउन सहयोग माग्दै मर्नुभन्दा बहुलाउनु वेश भनेर छोरीको उपचार खर्च बेहोरेको बताएका थिए । कार्कीले ‘त्यस्तो रिपोर्ट लेख्ने डाक्टरलाई जिउँदै जलाउँछु’ भनेको ती युवकले रेकर्ड गरेका छन् । मोबाइल रेकर्डमा कार्कीले ‘मेरो पाँचखालतिरकी प्रेमिका पनि भएकोले अब साधनालाई केही गर्दिनँ, जसरी पनि उसलाई सम्झएर यो केस मिलाऊ, जति माग्छौं त्यति खर्च गर्छु’ भनेको सुनिन्छ ।

कार्कीको दाउ
अभियुक्त कार्की यो अपराधबाट चोखिन कि साधनाले बयान फेर्नुपर्छ कि त उनी पागल प्रमाणित हुनुपर्छ । हिरासतमा रहेका कार्की दोस्रो उपायमा लागेका देखिन्छन् । उनले परिवारका सदस्यहरूलाई पनौतीको केटासँग सम्बन्ध रहेको साधनाको मानसिक स्थिति समेत ठीक नभएको भन्न लगाएका छन् । तर, साधना मानसिक रूपमा स्वस्थ रहेको चिकित्सकको परीक्षणबाट पुष्टि भएको रक्षा नेपालको भनाइ छ । परिवारले प्रेम सम्बन्ध रहेको भनेका पनौतीका युवकले भने साधना र आफूबीच दाजुबहिनीको सम्बन्ध रहेको बताए । “हाम्रो सम्बन्धको सीमा उनको आमालाई राम्ररी थाहा छ”, उनी भन्छन् ।
पिडीत बालिकाकी आमा प्रहरी परिसरमा

साधनाले रेकर्ड गरेको मोबाइल संवादमा बाबुआमा दुवैले घुमाउरो गरी आ–आफ्नो पाप स्वीकारेका छन् । आमाले छोरी बलात्कार भएको कुरा सुने पनि आँखाले नदेखेको बयान दिएको बताउँदै काभ्रे जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक भट्टराई भन्छन्, “कार्कीले भने साधनाले रेकर्ड गरेको स्वर आफ्नो नभएको दाबी नछोडेकाले प्रयोगशाला परीक्षण हुँदैछ ।” परिवारभित्रको यौन अपराध छताछुल्ल भएपछि साधनाका ७५ वर्षीय हजुरबाले १० भदौमा विषसेवन गरी आत्महत्या गरेका छन् । हजुरबाले ज्यान गुमाउनुमा मूल दोषी रहेको भन्दै साधनाका भाइले साधना र रक्षा नेपाल विरुद्ध उजुरी दिएको डीएसपी भट्टराईले बताए ।

(पीडित युवतीको गोपनीयताका लागि उनी र उनको परिवारका सदस्यहरूको वास्तविक नाम तथा पूरा ठेगाना दिइएको छैन ।)
हिमाल खबर पत्रिकामा २०७१ भदौ १५ –२१  अंकमा प्रकाशित (तस्वीरहरु केही थप राखिएक छन् )


Comments