को हुन् मेरा गुरू ? प्रश्न मौन ! आँखा चिम्ले र तिमीलाइ देखे

 म आकाशबाट चमात्कारी तरिकाबाट त खसेको होइन । चाहेको भए त मेरी आमा मलाइ गर्भमै तुहाउन सक्थीन् ? म कसरी भनु अलानो, फलानो गुरू हो मेरो ? कसरी भनु भगवान तिमी हो मेरो गुरू ? यो संसारमा ल्याउन पनि त भगवानले मेरी आमाको गर्भ नै खोजेको हो ? 

जव म रुदै यो संसारमा आए । मलाइ जाडो भयो । मेरी आमाले न्यानो पार्दै आफ्नो कोखमा च्यापिन् । मलाइ भोक लाग्यो मेरी आमाले दुध चुसाइन् । जव म एकहोरो उज्यालोतिर मात्र हेर्थै । मेरी आमाले चारै तिर हेर्न सिकाइन् । जव म बिरामी पर्थे । मेरी आमालाइ आभाष हुन्थ्यो । उपचारका लागि हस्पीटल लग्नुहुन्थ्यो । जव म हिड्नका लागि पाइला अगाडी सार्थे बाबाले मलाइ सहारा दिनुहुन्थ्यो । जव म रून्थ्ये कति रुन्छे भनेर हप्काउनु हुन्थ्यो र हाँस्न सिकाउनु हुन्थ्यो । यि सव मेरा बाल्यकालका दृष्य हुन् ।
मेरी आमाको ९ वर्षमा विवाह भयो र १५ वर्षमा मलाइ जन्माउनु भयो । कक्षा १ मात्र पढेकी मेरी आमा मेरो पहिलो पाठशालाको महत्वपूर्ण अंश हुन् भने मेरो बाबा त्यसको महत्वपुर्ण खम्बा हुन् । मलाइ घरमा नै आमाले कालो पाटीमा खरीले कोर्न सिकाउनु हुन्थ्यो । अहिले आएर लाग्छ । मेरी आमाको ज्ञान डिग्री पढेकाहरुको भन्दा ठुलो थियो । पहाडमा सानो छँदा भाइ कुरुवा बस्नुपर्ने हुँदा आफु स्कुल जान पाउनु भएन । त्यही भएर आफुले पढ्न नपाएको पिडा सधै हाम्रो लागि औषधीको रुपमा प्रयोग गर्नु हुन्थ्यो र भन्नु हुन्थ्यो “पढ् नत्र घाँस, दाउरा गर्नु पर्ला” । यही भनेर डराउनु हुन्थ्यो सानो छँदा मलाइ ।  
आमाले घरको सुरक्षाको जिम्मा लिएकी थिइन् भने बाबाले देशको सुरक्षाको जिम्मा लिनुभएको थियो । आमा काचो माटोलाइ बलियो घर बनाउन आकार दिनु हुँदै थियो भने बाबाले बलियो घरको रेखदेख गर्नुहुन्थ्यो । मेरी आमाको आफ्नै संघर्ष थियो पहाड देखि तराइ सर्नुको पनि ।
सानो चोट लाग्दा पहिला आमालाइ दुख्थ्यो । खान,बस्न,बोल्न र कसलाइ कसरी सम्मान गर्न सिकाउने मेरी आमा हुन् । आमा ममताकी खानीका साथै हिटलर पनि हुन् । बाबा कर्तव्य बोधक हुन् ।  सानो छँदा एक्लै बजार जान डराउथ्ये । जेन्स साइकल दिएर बाबाले मलाइ सामान लिन एक्लै बजार पठाउनु हुन्थ्यो । एक्लै निडर भएर हिड्न सिकाउनु हुन्थ्यो । सायद त्यो प्रयोगले आज मलाइ जती टाढा र अप्ठ्यारो ठाँउमा जानु परेपनि एक्लै जान डर लाग्दैन ।
विभिन्न शव्दहरुमा गुरूपुर्णिमा दिन फेसबुकका भित्ता भरिएका देखे । कसैले फलानो गुरु भनेर प्रणाम लेखे । कोही फलानो गुरु भनेर कोशेली लिएर भेट्न हिडे तर के हामीले सम्झ्यौ आमा र बुवालाइ ? जो जीवनको सबै भन्दा पहिलो र महत्वपुर्ण गुरुहरु हुन् । नौ महिना गर्भमा राख्ने आमा देबकी र पाल्ने ति यशोदालाइ सम्झ्यौ ? के ति कर्तव्य पालना गर्न सिकाउने बुवालाइ सम्झ्यौ । धेरै आशा, इच्छा, आकंक्षा, रहर, आत्मविश्वास भरेर, त्यसलाइ सार्थक गर्न उडाउन सिकाउने आमा र बाबालाइ सम्झ्यौ ? मैले एक छिन आँखा चिम्लेर सोचे को हुन् मेरा गुरु ?
म आकाशबाट चमात्कारी तरिकाबाट त खसेको होइन । चाहेको भए त मेरी आमा मलाइ गर्भमै तुहाउन सक्थीन् ? म कसरी भनु अलानो, फलानो गुरू हो मेरो ? कसरी भनु भगवान तिमी हो मेरो गुरू ? यो संसारमा ल्याउन पनि त भगवानले मेरी आमाको गर्भ नै खोजेको हो ? म यो संसारमा जन्मनु देखि अहिले सम्म आमा र बाबाको देन छ । मैले कसैको आस्था र भावलाइ चोट पुर्याउन खोजेको होइन् तर मेरो गुरुको प्रश्नको उत्तर यही हो ।

Comments