छाउपडी गोठमुक्त देख्न नचाहने निकायहरु


Devaki Bist
२०६९ साल पुस ४ गते राति अछाम रिडिकोट(४ की शर्मिला भुल (१५) ले महिनावारी भएकै बेला छाउगोठमा ज्यान गुमाइन् । २०७३ साल मंसिर ४ गते तिमिल्सेन–७ की डम्मरा उपाध्याले छाउगोठमा ज्यान गुमाएको एक महिना नपुग्दै रोशनी तिरुवाको छाउगोठमै सुतेको बेला मृत्यु हुँदा फेरी अर्को घटना दोहरीएको छ । महिनावारी भएको बेला महिनै पिच्छे यसरी मृत्युको मुखमा धकेलिएका किशोरीहरुको मृत्त शरिर देख्दा ’अछाम जिल्ला छाउगोठ मुक्त जिल्ला भयो’ भनी घोषणा गर्नेका लागि ठूलो चुनौती भएको छ ।
२०६३ यता यो छाउगोठ मुक्तगर्ने अभियान चलिरहेकै अहिले सम्ममा १० जना महिला तथा किशोरीले छाउगोठमै ज्यान गुमाइसके । यि सबै घटना विवरण हेर्दा छाउगोठमा निस्सासिएर ज्यान गएको देखिएको छ । रोशनी तिरुवाको मृत्यु भएको अछाम–गाज्रा छाउपडी गोठ मुक्त घोषणा गरिएको गाविस हो । सात वर्ष पहिला अछाम पुग्दा सदरमुकाम नजिकका गाउँमा समेत छाउगोठ देखिन्थे । २०७३ साल भाद्र महिनामा अछाम जिल्ल पुग्दा ’छाउगोठ मुक्त जिल्ला’ गठन भइसकेको थियो ।
मध्यपश्चिम र सुदूरपश्चिका जिल्लाहरूमा महिनावारी भएका महिलालाई घरबाट अलग्गै ’छाउगोठ’मा राखिन्छ । सुदूरपश्चिममै हुर्केकाले मेरा लागि छाउगोठ अपरिचित होइन । त्यस कारण पनि समाचारमा यस्ता घटना पढ्दा, सुन्दा आफैंमाथि भएजस्तो लाग्छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट यो कुप्रथा कैलाली र कञ्चनपुरमा पनि बसाइँ सर्यो । शिक्षा, स्वास्थ्य र सुविधाको हिसाबले पहाडी जिल्लाभन्दा राम्रो मानिएका यी जिल्लामा बसाइँ सरी आउनेले ’छाउगोठ’ पनि ल्याएका थिए ।
केही वर्षअघि कञ्चनुपरमा ’छाउगोठ’ अभियान चलेको बेला म फोटो खिच्न पुगेकी थिएँ । छाउगोठ भत्काउँदा बिच्छी, करेत सर्पसमेत निस्केको देखेँ । भौतिक स्वरूपका ’छाउगोठ’ भत्काइए पनि मानसिकतामा रहेका छाउगोठ भत्काउन सकिएनछ । फेरि बने छाउगोठ ।
अहिले पनि सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लामा महिनावारी भएको बेला केटीहरू स्कुल जाँदैनन् । स्कुल जाँदा बाटोमा देउताको मन्दिर पर्छ र त्यो बाटोमा हिँडेर जाँदा देउता लाग्छ भन्ने त्रास फिँजाइएको छ । पहाडी क्षेत्रका महिलाहरू अहिले पनि मन्दिरनजिक भएको बाटो छलेर मन्दिरलाई माथि पारी अप्ठ्यारो तल्लो बाटो घाँस बोकेर हिँड्छन् । महिनावारी भएको बेला बजार जाँदैनन् ।
कैलाली र कञ्चनपुर जिल्लाका केही ठाउँमा अहिले पनि महिनावारी भएको बेला चार दिनसम्म गाईको दूध खान दिँदैनन् । महिनावारी भएका महिलाले गाईको दूध खाएमा दूध सुक्छ भन्ने भ्रम छ । हरियो लहरेबेला, फलफूलका बोटहरू छुनु हुँदैन, छोए सुक्छ भन्ने मान्यता छ । महिनावारीका बेला जिल्ला छोडेर जानु हुँदैन भन्ने अर्को भ्रान्त धारणा उत्तिकै व्याप्त छ ।
छाउगोठसँगै जीवित यस्ता भ्रान्तीहरूले जेलिएको छ मध्य र सुदूरपश्चिमेली महिलाको जीवन । हरेक महिनाको प्राकृतिक प्रक्रिया उनीहरूका लागि जीवनमरणको प्रश्न बनेर आउँछ । मासिक स्रावबाट उन्मुक्ति पाएको दिन नयाँ जीवन पाएको महसुस गर्छन् उनीहरू ।
त्यस्तै अन्धकारको सँघार नाघेर देशको उच्च ओहोदामा पुगेका मानिसहरूले समेत यो कुप्रथालाई निमिट्यान्न पार्न सकेका छैनन् । मन्त्री र प्रधानमन्त्री भइसकेका मानिसहरूले समेत आफ्नै आँगनको कुप्रथा हटाउन नसकेर त पक्कै होइन, नचाहेरै हुनुपर्छ । अछाम जिल्लमा छाउपडी प्रथामै काम गर्ने भनेर विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र स्थानिय निकायहरु कार्यरहत रहेका छन् । यिनीह्रुको समन्वयमा छाउपडी प्रथामा काम गरे भनेर छाउगोठ भत्काए । २०६३ यता यो अभियानका रुपमा चल्यो ।
छाउपडी गोठ भत्काउनु भन्दा पनि मनको भ्रम भत्काउने प्रयास गरेको भए हुन्थ्यो । संचारमाध्यमद्वारा अछाम जिल्ला छापडी गोठ मुक्त भयो भनेर राजधानीमा मात्र ठुला ठुला होटलमा प्रतिवेदन खोकियो । खै प्रतिवेदन झै काम भएको ? अहिले आएर लाग् छाउपडी गोठमुक्त सुदूरपश्चिम र मध्यपश्चिम हुनेवित्तकै तिमीहरुको खेत ीगर्ने ठाँउ हुदैन । सोचीरहेकी छु । हरेक महिना प्राकृतिक प्रक्रियाबाट गुज्रिँदा मृत्युसँग सिँगौरी खेल्नुपर्ने विवशता कायम राख्ने हाम्रा अधिकार सम्पन्न मान्यवरहरूको अक्षम अनुहार देखाइ दिने ऐना कहाँ पाइन्छ ? छाउपडी मृत्युको कारखानामात्र होइन, यो त्यही ठाउँ हो जहाँबाट राज्यको अक्षम अनुहार चियाउँछ ।

Comments