जो आफू बलात्कारमा परेर पनि आफूजस्तै किशोरीको उद्धारमा लागेकी छन्


हरेक वर्ष अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यस वर्षको नारा ‘समानताको पुस्ता, बलात्कारविरूद्ध ऐक्यवद्धता’ तथ‍ा अन्तर्राष्ट्रिय नारा 'अरेन्ज द वर्ल्ड जेनेरेसन इक्वालिटी स्ट्याण्ड अगेन्स्ट रेप' रहेको छ।

नेपालमा बलात्कारका घटना वृद्धि भएको भन्दै १६ दिने अभियानको नारा बलात्कार केन्द्रीत बनाइएको हो।
यसै विषयमा आधारित रहेर पटक पटक बलात्कारको हिंशा सहेर अहिले आफैं अभियन्ता बन्न पुगेकी मुना दमाई (नेपाली) रक्षा नेपालकी कोषाध्यक्षसमेत हुन्।
मान्छे जब हिंसामा पर्छ। त्यो हिंसा सहन नसकेपछि एक न एक दिन बिस्फोट हुन्छ। यस्तै बिस्फोट मुनाको जीवनमा पनि भयो।
१७ वर्षअघि नुवाकोटस्थित घरमा बम बिस्फोटमा परि बा आमा गुमाउँदा उनी मात्र ५ वर्षकी थिइन्।
त्यतिखेर दिदीहरूको विवाह भइसकेको थियो। एक दाजु र भाइ थिए। मुनालाई त आफ्नो बाबाआमाको राम्रोसँग सम्झना पनि छैन।
टुहुरो हुनुको पीडा छँदैछ। त्यसमाथि लित हुनुको अभिसापले मुनालाई धेरैनै गिजोल्यो। मुना हुर्किर्दै गइन्। गाँउघर, पानी-पँधेरोमा जाँदा पनि दलित भनेर सबैले हेपेको सम्झना उनलाई ताजै छ।
गाँउमा बस्न नसकेपछि उनी दाजुसँगै काठमाडौं शहर पसिन्। मुनालाई त्यत्ती बेला कति वर्षको थियौं भनेर सोध्दा उनलाई राम्रोसँग सम्झना छैन। 'सायद १० वर्षकी थिएँ कि?', उनले अनुमान लगाउँदै जवाफ दिइन्।
काठमाडौं शहर मुनाले सोचेजस्तो भेदभावमुलक कहाँ थियो र? कल्पना गरेजस्तो सहज पनि थिएन। यहाँ त पाइलैपिच्छे गिद्दे नजरबाट बचेर हिँड्नु पर्थ्यो। कामको नाममा मान्छेले मान्छेलाई नै बेच्ने नजरबाट बच्नुपर्थ्यो।
काठमाडौं शहर यस्तै थियो। जहाँ आफन्त पनि बिराना हुन्छन्। मुनाको पनि यस्तै भयो। दाइले भाउजु ल्याए। मुना सडकमा पुगिन्।
मुनाले कति दिन त सडकमा फ्याँकेको खाइन्। सडक मै सुतिन्। काम गर्नेको लागि जात सोध्दा एक दिन उनले जात ढाटेपछि एउटा घरमा भाँडा माोझ्ने काम पाइन्।
त्यहाँ एक वर्ष काम गर्दा उनले धेरै दुःख सहनुपर्‍यो। उनको त्यो अवस्था एक व्यक्तिले नियालिरहेका थिए। उसले एक दिन मुनालाई राम्रो ठाँउमा काम लगाइदिने आश्वासन दियो।
मुनालाई 'ढुङ्गा खोज्दा देउता मिले' जस्तै भयो। मुना त्यो केटासँग नयाँ कामको खोजीमा त्यहाँबाट निस्किइन्। मुनाले सोचिन् 'यो शहरमा राम्रो मान्छे पनि हुँदा रहेछन्।'
त्यो केटाले उनलाई अर्को अपरिचित व्यक्ति कहाँ पुर्‍यायो। 'तिमी यही बस्दै गर, म एक छिनमा आँउछु', भनेर त्यो केटा त्यहाँबाट निस्कियो।
त्यो मान्छेले किनिदिएको रातो फ्रक र जुत्ता लगाउन पाउँदा उनी दङ्ग थिइन्। 'बच्चा न थिएँ। मैले आफूलाई नै सिन्ड्रेला सम्झेर फुरूङ भएकी थिएँ', उनले बिएल नेपाली सेवासँग भनिन्, 'तर, जब एउटा कोठामा पुर्‍याएर कसैसँग जर्वजस्ती सुत्न लगाइयो। त्यसपछि मैले सबै वास्तविकता थाहा पाएँ।'
बच्चाले जति नै नाइनास्ती गरे पनि कसैले सुनेनन्। न त कसैले थाहा पाए। त्यो पिँजडाबाट निस्कन उनी सकिनन्।
'दिनकै ३०, ३५ जना ग्राहकको ओछ्यान बन्नुपर्ने अवस्था आयो। त्यो एक छिनमा आँउछु भन्ने मान्छे कहिले फर्केर आएन। मलाई लाई बेचेर गएको रहेछ', उनले भनिन्।
यति धेरै पीडाका बिचमा पनि मुनाले हिम्मत हारिनन्। केही दिनपछि उनले आफूलाई ठमेलको मसाज सेन्टरमा बेचेको थाहा पाइन्। अँध्यारो रातमा पनि मुनालाई त्यहाँबाट निस्कने उज्यालोको दिप बलिरह्यो। धैर्य गर्दै एक दिन मुनाले रक्षा नेपालद्वारा एफएममा प्राशारित 'रक्षाको आवाज' नामक कार्यक्रम सुनिन्।
त्यो कार्यक्रममा फोन नम्बर दिएको थियो । मुनाले सम्झिइन् र साहुँलाई छलेर एक दिन रक्षा नेपालमा फोन गरिन्। उनको फोन कलसँगै मुनासहित अरू केहीलाई त्यहाँबाट उद्वार गरियो।
मुनाको साहस र आँटले रक्षा नेपालको संरक्षणमा पुर्‍यायो। रक्षा नेपाल हिंसा पीडित किशोरी र मनोरञ्जन क्षेत्रमा बाध्यात्मक शोषण गर्नेका विरुद्धमा काम गर्ने संस्था हो।
रक्षा नेपालकी अध्यक्षलाई मुना आमा अर्थात आफ्नो गडमदर मान्छिन्।
'गड मदरको अंगालोमा पहिलोपटक पर्दा मैले म (मुना) हुनुको अर्थ बुझेँ। मलाई मेरो माया लाग्यो। मलाई पनि कसैले माया गर्दो रहेछ भनेर बुझ्ने मौका पाएँ', उनले हर्षका आँशु बगाइन्।
रक्षा नेपालमा आएसँगै मुनाका दिन फेरिए। उनले आफूलाई संस्थाद्वारा सञ्चालित शशक्तिकरणको पाइलामा अगाडि सारिन्। उनी आफूजस्तै अरू किशोरी र महिलाहरुको उद्वारमा लागिन्।
मुना जीवनमा जहिल्यै सकारात्मक सोच्छिन्। त्यसैले उनले सकारात्मक कार्यक्रमदेखि प्रेरणादायी कुरा मात्र सुन्छिन्। उनको सकारात्मक सोचले सन् २०१८ मा एशियन पेन्ट्सले नारी दिवसको अवसरमा आयोजना गरेको 'शक्तिरूपेण संस्थिता' नामक गोल्डेन अवार्ड सहित ७० हजार नगद पुस्कार पाइन्।
उक्त पुरस्कार रकम मुनाले आफू जस्तै दलित किशोरीको पढाइमा खर्चिइन्।
मुना हालै युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भईरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि नेपालस्थित लिडरसिप एकेडेमी र अमेरिकास्थित युर्निभर्सिटी अफ सैन डिएगो, क्रोक इन्स्टिट्यूट फर पिस एण्ड जस्टीसले दिएको 'राष्ट्रिय युवा नेतृत्व प्रशीक्षण' का लागि छानिइन्।
कार्यक्रममा राष्ट्रलाई शान्ति र सम्वृद्धिको मार्गमा अघि बढाउन युवाले महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरू प्रेरक शक्ति भएको बताइएको थियो।
समुदायमा सकारात्मक परिवर्तन सृजना गर्न अबको युवाले नेतृत्व लिएर आवश्यक कौशल र ज्ञान विकास गर्न जरूरी रहेको भन्दै युवा नेता/नेतृहरुको कामलाई अझै प्रभावशाली बनाउन एक बरिष्ठ नेता मार्फत सल्लाह, सुझाव तथा मार्गदर्शन गरिएको थियो।
कार्यक्रममा छनोट भएका युवा नेतालाई यो कार्यक्रम मार्फत यसै कार्यक्रममा छनोट भएका ७ प्रदेशका सहभागीसँग अन्तरक्रिया र देशभरका उदीयमान युवा नेतासँग काम गर्ने मौका दिइएको थियो।
मुना आफूजस्तै पीडाबाट गुज्रिएका महिला, किशोरी र युवतीलाई आशा र धैर्यता कहिले तोड्नु हुँदैन भन्छिन्। 'आशा गर्न नै छोड्यो भने बाँच्न सकिदैन। कुनै पनि कामको लागि सकारात्मक र धैर्यता गर्न छोड्नु हुँदैन', यो उनले जीवनमा सिकेको महत्वपूर्ण पाठ हो।
कुशल र असल युवा नेतृत्वले मात्र समाजमा प्रभावकारी रुपमा सकरात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले राष्ट्रलाई शान्ति र सम्वृद्धिको मार्गमा अघि बढाउन युवाहरु नै महत्वपूर्ण र प्रेरक शक्ति हुन्।
समुदायमा सकारात्मक परिवर्तन सृजना गर्न अबको युवा नेतृत्वले आवश्यक कौशल र ज्ञान विकास गर्न जरूरि छ।
युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरूमा विकसित भईरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि नेपालस्थित Leadership Academy र अमेरिकास्थित University of San Diego, Kroc Institute for Peace & Justiceले 'राष्ट्रिय युवा नेतृत्व प्रशिक्षण' कार्यक्रम सञ्चालनमा ल्याएको हो।

Comments