कालापानीमा नेपालको हविगत: भारतीय सेना सुविधायुक्त क्याम्पमा, नेपाल प्रहरीसँग बर्दी पनि थिएन (भिडियोसहित)



राजा महेन्द्रकै आदेशमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले नेपाली सेनालाई ‘खम्पा विद्रोह’ दबाउन तिंकर पठाए। नेपाली सेना काठमाडौंबाट परिचालन भएपनि उनीहरूलाई कालापानी क्षेत्रको भूगोलको विषयमा त्यति जानकारी थिएन। त्यसैले ‘खम्पा विद्रोह’ को अपरेशनका लागि निस्किएका सेनासँग नेपाल प्रहरीका ९ जना जवान पनि सलंग्न भए।
‘खम्पा विद्रोह’ दबाउन सेनालाई नेपाल प्रहरीले धेरै सहयोग गरेको थियो। लिपुलेक नजिकै नेपाली सेनाले ‘खम्पा विद्रोह’ का कमाण्डर जर्नेल वाङ्दीलाई मारेका थिए। यसपछि ‘खम्पा विद्रोह’ समाप्त भयो।
नेपाल प्रहरी र नेपाली सेनाले ‘खम्पा विद्रोह’ मा कमाण्डर वाङ्दीको टिमबाट बरामद गरेको टेलिस्कोपजडित राइफल आफ्नो कब्जामा लिएको थियो ।
यति बेला तिन्करको छाङरू भन्ने ठाउँमा नेपाल प्रहरीको चेक–पोष्ट थियो। अत्याधिक चिसोका कारण यो पोस्टमा बस्न प्रहरीलाई धौ–धौ पर्थ्यो। एकसरो बर्दीले त्यहाँको चिसो छल्न सकिदैनथ्यो।
अधिक चिसो र अफ्ठेरो भूगोलका कारण प्रहरीका हाकिमहरू सायदै त्यहाँ जान्थे। स्याटलाइटबाट चल्ने वाकाटकीको ब्याट्री सकिएको खण्डमा लिन काठमाडौं हिँडेर आउनुपर्थ्यो।
‘खम्पा विद्रोह’ मा नेपाली सेनासँगै संयुक्त अपरेशनमा सहभागी भएका नेपाल प्रहरीका अवकाश प्राप्त सई खड्कबहादुर बिष्ट भन्छन्,‘त्यति बेला नेपाल प्रहरीको अवस्था दयनीय थियो। हामीले लगाउने बर्दी लखनउबाट एकजना भारतीयले ल्याउँथे। त्योपनि भारतीय सेनाले पहिले नै लगाइसकेको लुगा बोकेर त्यो आउँथ्यो।’
नेपाल प्रहरीले रासन र लत्ताकपडा पाउन थालेको २०३१ सालतिर हो। जब डिवी लामा आइजिपी बने।
बिस्ट भन्छन्, ‘हामीले प्रहरीले डिबी लामालाई भगवान मान्दा हुन्छ।’
नेपाल प्रहरीले कालापानीमा भोगेको दुःख र हाल भारतले कब्जा गरेको नेपाली भूभागको विषयमा हामीले अनवरत समाचार सम्प्रेषण गरिरहेका छौं। त्यति बेला कालापानीमा कार्यरत बिस्टको अनुभवलाई हामीले दुई खण्डमा सबैलाई बुझाउने जमर्को गरेका थियौं। बिष्टसँग गरिएको कुराकानीको दोस्रो तथा अन्तिम खण्ड यसप्रकार रहेको छ।

Comments