विश्वलाई चकित बनाउने गाँउ || जहा आत्माले भेडाको मुटु झिकेर खान्छ ||

सात वर्ष अघीकी रुकुम र अहिलेकी रुकुमले परिवर्तनको निकै ठुलो काचुली फेरेको रहेछ । चार पाँच तलाका घर, भने जस्तै होटल । नागबेली झै देखिने घुमाउरो पक्की सडक । अझै भनौ न रुकुम मुसीकोट सदमुकाम । मुसीकोटकी मुसी निकै सिङ्गारीएकी थिइन् । लाग्थ्यो नवआगन्तुक पाहुनालाइ आफ्नो सुन्दरता देखाउन मुसी आतुर थिइन् । हामीलाई पुग्नु थियो लुकुम । लुकुम नाम र ठाँउले पनि मेरो लागि नौलो थियो ।
रुकुमबाट लुकुम जानको लागि सडकको वर्णन गर्ने हो भने ज्यानको माया मारेर हिड्नु पर्ने थियो । बानी परी सकेकाहरुलाइ भने समान्य भैसकेको थियो । ति भिरहरुमा मुस्ताङ जिप राजा नै थियो । मानौ यसरी चल्थ्यो कि जिप र भिर एकअर्काका लागि बनेका हुन् । अझै मुस्ताङ चलाउने चालकको त कुरै नगरौ । मुस्ताङ जिप ति ज्यानमारा भिरमा कुदाउन चालक यती सिपालु थिए कि मुस्ताङलाइ ति सिपालु चालक बाहेक अरु कसैको हातमा गयो ज्यान गुमाउनु पथ्र्यो । त्यसैले होला २०७४ साल मंसिरमा लुकुमकोटबाट रुकुम फर्कर्दै गर्दा मुस्ताङ जीप दुघर्टनामा नवविवाहित इन्सपेक्टरका जोडी सहित सात जनाले ज्यान गुमाए । यो अवस्था सिपालु चालकले नचलाएका कारण दुर्घटना भएको हो । यदी चालकका हातबाट  स्टेरिङ अर्को व्यक्तीले नलिएको भए यो अकल्पीत दुर्घटनाको खबर सुन्नुपर्थेन । रुकुमबाट ९ बजे हिडेका हामी साँझ ६ बजे मात्रै लुकुम पुग्यौ ।  
लामो यात्रामा रुकुम देखि लुकुमकोटका ज्यानमारा सडकको दृष्य फिल्म निर्देशक सुवर्ण थापा कैद गरिरहेका थिए । सायद, उनी मनमा कल्पना गर्दै थिए होला । प्राकृतिक सुन्दरताको धनी नेपाल र कृतिम सुन्दरता दिएर बनाइएका खाडी मुलुक र यूरोप, अमेरिकाका पहाडका सुरूङमा कुद्दै गरेका रेल । उनी भन्दै थिए अव यि सडक पक्की हुन त अझै १० वर्ष लाग्छ होला । सुरुङ्गमा रेल कुद्ने कल्पना त .....परै जाऊ ।
मुस्ताङ चालकले हामीलइ लुकुम आयो ओर्लनुस् भन्यो । यही हो लुकुम भन्दै हामी ओर्लिए । ज्यानमारा सडक बिसिैयौ । एकैनासका ढुङ्गाले छाएका घरहरु देख्यौ । ति प्रत्येक घरको वार्दलीमा मकैको झुण्ड देखियो । यो भन्दा पहिले मैले मकै सेतो र पहेलो रङ्गको मात्र देखेको थिए । तर लुकुममा रातो, कालो र कलेजी रङ्गको मकै देख्दा त हामी छक्क परे । झिमिसे उज्यालो थियो तर पनि आँखाले सुन्दर दृष्य प्रष्ट देखिन्थ्यो । एक,दुई तस्विीर खिच्यौ ।
गोरो वर्ण, ट्रयाक, सुटमाथी हाफ ज्याकेट र लकुुमेली झै शिरमा लपेटा बाधेकी एउटा महिला आइन् । उनी मेरो आर्कषणकी पात्र बनेकी थिइन् । उनको नाम आना दि सेल्स । फ्रान्सेली नागरिक । नेशनल सेन्टर फर साइन्टीफिक रिसर्चबाट आएकी हुन् । आज भन्दा २८ वर्ष अघी नेपाल आएकी उनलाइ पटक पटक नेपालको मोहले तानिरह्यो । उनी धामीझाक्रीका बारेमा अनुसन्धान गरीरहेकी रहिछिन् । उनीसँगै सहयोगी दिकप झाक्री थिए । दिपक लुकुमेली थिए । सारै मिजासिला । लुकुम काक्री स्थानियले विश्वास गर्ने युवा भन्दा पनि फरक नपर्ला । आनालाइ त्यो गाउ भित्र छिरेपछि नचिन्ने सायदै थिएहोला । हामीलाइ स्वागत गरेपछि आना र सुर्वण सर जव आफ्नो भाषामा कुरा गथ्र्ये दिपक र म ट्वाल्ल पथ्र्यौ ।  दिपक भन्थ्ये देबकी दिदी यो फ्रेन्चभाषा खाम भन्दा पनि अप्ठ्यारो रहेछ कि के हो ? अनि म हाँस्थ्ये । किनभने मलाइ न खाम आथ्यो न त फ्रेन्च भाषा । आनाको नेपाली भाषा प्रष्ट थियो र खाम भाषा पनि उनी बोल्न र बुझ्न सक्थीन् । एक दिन भरी म अलमल्लमा परे । उनलाइ आना भनेर बोलाउदा म आमा सुनीरहन्थ्ये । पछि थाहापाए । आना भनेर बोलाएको रहेछ । लुकुमेलीहरु मायाले आना भन्दा रहेछन् । आना २०४६ सालमा नेपाल आएकी थिइन । त्यत्ती बेला नेपालमा आन्दोलन हुँदै थियो । ‘त्यो बेला नाम के भन्यो ? अ सम्झे राजा विरेन्द्र थिए’ । उनी भन्दैथिइन् ।
हाम्रो समूहमा अनुसन्धानकर्ता आना, फिल्म निर्देशक सुवर्ण थापा, दिपक झाक्री र म थिए । जव हामी त्यो गाँउमा हिड्थ्यौ । आनासँग मुसुक्क मुस्कुराउथ्ये लुकुमेलीहरु । किन भने उनी त्यो गाँउमा आउदैगरेको २९ वर्ष भएको थियो । उनीले भेटेका १,२ जना झाक्री बाहेक अरुसबै मरसिके । साना केटाकेटी ठुला भएर पनि आनाको नाम बिर्सेका थिएनन् । आना २० वर्षकी हुँदा लुकुम आएकी थिइन् । पाँच दिन लगाएर भरियाहरुसँग लुकुम आएकी आना १८ महिना नेपालमै बसिन्  । लुकुमेलीहरुको रहनसहन सबै सिकिन् । हामी रुझीधन घर्तीमगर मास्टरको घरमा बसेका थियौ । मास्टरको घर भनेपछि सबैले चिन्थ्ये र छुट्याउन पनि सक्थ्ये घर कुन हो भनेर । 
आना हामीसँग कुरा गर्दा कुनै बेलामात्र अंग्रेजी बोल्थीन् नत्र भने नेपालीमा कुरा गर्थिन । सुर्वण सर र आना भने फ्रेन्च भाषमा कुरा गथ्र्ये । आनाले पहिले र अहिलेको लुकुममा धेरै अन्तर पाएकी रहीछीन् । खान, लाउन, बस्न देखी राजनीति सचेतना आएको बताइन् । ‘पहिले त कस्तो थिए मलाइ सोच्दा पनि कस्तो कस्तो लाग्छ । अहिले यहाँको दिदी ,बहिनी, दाजुभाइमा धेरै परिवर्तन आएको जस्तो मलाइ लाग्छ’ उनी सुनाउदै थिइन् । एकछिन मुसुक्क हाँस्दै उनले विगतका पाना पल्टाइन् । ‘जव म यो गाँउ(लुकुम) मा आए । मलाइ हेर्न सबै घेरिएर बस्थ्ये । एक चोटीको लागि पनि मलाइ कसैले छोड्दैनथ्यो । यती सम्मकी म दिशा गर्न जाँदा पनि मसँगै जान्थ्ये । दिशा गर्नको लागि पनि कसरी कसरी मैले लुकेर जानुपथ्र्यो । त्यो बेला धेरै गारो थियो । अनि मलाइ देख्ने बित्तिकै गोरी आइ भनेर मेरो पछि पछि लाग्थ्ये सबै । लुकुमका काक्रे गाँउका सबै बिहान देखी राती सम्म मद(कोदोको रक्सी) खाएर लठ्ठ हुन्थ्ये । भनौन नखाएको मान्छे नै भेटिन गारो हुन्थ्यो । हामी बस्ने घरका मास्टर रुझीधन सर खानु हुँदैनथ्यो । त्यसैले पनि उनको भद्रता झल्कीरहन्थ्यो । जसको घरमा गएपनि मदले स्वागत गथ्र्ये । नखाएमा आलङमालङ हुन्छ भनेर दिपकले मलाइ र सुवर्ण सरलाई बेला बेला झस्काइरहन्थ्यो । यसको मतलव स्वागतलाइ स्वीकार नगरेमा त्यहा पिचासले दुःख मान्छन् भन्ने प्रचलन रहेछ । अनि यसको समाधान खोज्नै पर्नेथियो । पछि थाहा पाए मद(रक्सी) नखाएमा सक्क सक्क भन्दै आकाश तर्फ औलाले चढाउनु पर्ने रहेछ । हरेकको आ–आफ्नै संस्कृति हुन्छ । जस्लाइ हामीले सम्मान गर्नैपर्छ । त्यसपछि कसैले ग्लेटको भाँडामा रक्सी ल्यायो कि म अगाडी नै हामी सक्क सक्क गर्न जान्थ्ये । नत्र आलङमालङ होला भन्दै हिड्थ्यौ । आना यो सबैसँग परिचित थिइन् । उनी हाँस्थीन् मात्र र दिपकले के के भन्छन् ? भन्थीन् ।
मेरो अर्को आर्कषककी पात्र थिइन १६ वर्षिय मन्त्री । उनलाइ देख्दा साँच्चै मयुर नाचिरहेको भान हुन्थ्यो । माया लाग्दो मुहार । पट पट फुटेका पैतलाहरु । जव उनी हाँसिस्थीन, अध्यारो रातमा चन्द्रमाको झै मुहार देखिन्थ्यो । उनलाइ समग्रमा भन्दा मायालु चुलबुले मन्त्री । उनलाइ मन्त्री कसले राखेको नाम भनेर सोध्दा जिस्कीदै भन्थिीन् ‘मन्त्री होइन अब म प्रधनमन्त्री बन्छु’ भनेर हसाँउथीन् । उनी “पुमसिने ” मा आएकी थिइन् । यो पुपसिनेमा धामीझक्रीको समूह हुन्छ । यसमा आत्मा बोलाएर ज्ञान दिने हुन्छ । साची भन्ने हो भने गुरू विना शिष्य हुँदैन । त्यसैले गुरु झाक्रीबाट पुपसिनेमा अरु नयाँ झाक्रीले नयाँ नयाँ मन्त्र सिक्दछन् । सोच्दा र सुन्दा पहिले विश्वास लागेको थिएन । जव आफ्नै आँखाले देखे । विश्वास नगरी भएन । फ्रान्सेली नागरिक आना २९ वर्ष देखी यसैको अनुसन्धान गरीरहेकी थिइन् । हामीले देखेका १५ जना मध्ये म मन्त्रीको कुरा गर्न चहान्छु किन भने सबै भन्दा कान्छी झाक्री थिइन् पुरै लुकुममा । सबै भन्दा उर्जाशिल । कहिले लाग्थ्यो उनको उर्जा । त्यो आगोको कोइला झै सकिएर खरानी बन्दैछ तर मौन रहे । जव उनीमा आत्मा चढ्थ्यो । उनी सबै भन्दा अगाडी बलीरहेको आगोमा नाच्थीन् । तातो खरानी मुहारमा दल्थीन् । त्यसपछि मयुर झै नाच्दै घर भित्र गएर नराम्रो आत्मालाइ हटाउथिन् । आफ्नै आँखाले देखेपछि वर्णन गर्न यो लेखमा बाध्य छु । पछि उनको मुहार र पैतला नियालेर हेरे केही पनि भएको थिएन । विश्वास गरु । कसरी नगरु ? कोइलामा नाच्दा, तातो खरानी दल्दा पनि नपोलिने मन्त्री देखेपछि म चुप भए । यो यात्रा भरी मन्त्रीलाइ विर्सन सकिन । विभिन्न जनावरहरुका छाला ति सबै झाक्रीहरु पिठ्युमा झुण्डाएर नाच्थ्ये । जुन झाक्रीलाइ जे मन पर्छ । त्यसैको छाला बढी हुन्थ्यो । तर सबैको शिरमा डाँफेको प्वाख श्रीपेच झै ठडिएको हुन्थ्यो । कसैले रेडपाण्डा, कसैले बादर, कसैले चितुवाको छाला पिठ्यु भरी बोकेर नाचिरहेका थिए । डम्पुको धुन सुन्दा हामी पनि लठ्ठ हुन्थ्यौ । लाग्थ्यो उनीहरुसँगै नाचु । पुपसिनेमा गुरू हुने झाक्रीले नाचेर जव भेडाको मुटु झिकेर मुखमा राख्दै रुखमा गएर नाच्थ्यो त्यो दृृष्य झनै हेर्न पनि नसकिने थियो ।
जनावरका अधिकारका कुरा गर्नेहरु त्यहाँ गएर चुप बस्थ्ये जस्तो लागेर आयो । यती सोचीरहदा दिपक हामीलाइ भन्थ्यो नडाउनु फेरी आलङमालङ हुन्छ । ति दृष्यहरु हेरिरहदा न हास्न सक्ने थियौ न त बिचरा भन्न सक्ने । फेरी दिपकले आलङमालङ भनेको याद आउथ्यो । उनीहरु भन्थ्ये हामी यो जनावरको छाला अरुलाइ बेच्दैनौ । हाम्रो परम्परा हो । त्यसैले हामीलाइ पुलिसले केही गर्दैन ।
स्रोहवर्षिय मन्त्रीको कथा व्यथा बेग्लै थियो । मन्त्रीको २ वर्ष अघी विवाह भएको रहेछ । विवाह भएकै दिन देखी मन्त्रीको शरिरमा एककिसिमको कम्पन शुरु हुनथाल्यो । अस्पताल भन्दा सहज थियो । धामीझाक्री लुकुमेलीहरुका लागि । झाक्री कहाँ गए ।  मन्त्रीको मामा मरेपछि मन्त्रीको शरिरमा आत्मा बनेर चढेका रहेछन् । जो अव सधै मन्त्रीको शरिरमा कामीरहनेछन् । उनका श्रीमान अरव देशमा रहेछन् । तिम्रो यस्तो रमाइलो गर्ने उमेर गाँउघरमा झाक्री बन्दै हिड्दा नराम्रो लाग्दैन शव्द टुङ्गिन नपाउदै ’मुलाइ मन पर्दैन दिदी तर के गर्नु भाग्यमा यस्तै लेखेको रहेछ । दिदी दिक्क मानेर पनि भयान ’ । उनले भनिन् ।  मेरो साथीको यत्रोयत्रो बच्चा छ भन्दै उनले हातले देखाउदै आँखा भरी आँशु बनाइन् । मन्त्रीलाई काठमाण्डौमा लगेर पनि उपचार गरेको रहेछ तर निको भएन उनी भन्छीन् । एउटा डाक्टरले यही बस । तिमीलाइ सन्चो हुन्छ भन्थ्यो तर म बस्न सकिन अर्काको ठाँउमा । जस्तै भए नि आफ्नै गाँउ प्यारो लाग्छ त्यही भएर फर्के लुकुम । मन्त्रीले आफ्नो कुरा सुनाइन् । लठ्ठ पार्ने ठम्फुको धुन झाक्रीहरुले बजाउदै थिए । एकैछिन विश्राममा मैले मन्त्रीसँग कुरा गर्न पाएको थिए । मन्त्रीलाइ झाक्री सम्मेलनमा बसेको दुइ दिन ,दुइ रात भएको थियो तर पनि उनमा थकान देखिदैन्थ्यो । जव मन्त्रीमा आत्मा चढ्छ । जे गरेपनि थकाइ लाग्दैन । भोक लाग्दैन ।
मन्त्री र आनाको तालमेल फरक थियो । मन्त्री आनालाइ देख्ने बित्तिकै जिस्काउन पछि पर्दैन थिइन् । आनालाइ मन्त्री छोरी झै लाग्थ्यो । मेरो झझल्कोमा अहिले पनि मन्त्री घुमीरहन्छीन् । उनी आगोमा नाचेको । खरानी मुहारमा दलेको । मयुरको चलामा नाच्दै  विभिन्न जनावरको छाला पिठ्युमा झुड्याएर शिरमा डाँफेको श्रीपेच लगाएर नाच्दै गरेकी मन्त्री साच्चै रानी भन्दा कम थिइनन् । अहिले पनि लठ्ठ पार्ने डम्फुको धुन र नाम मेरो संस्मरणमा घुमीरहन्छ ।


Comments